जाजरकोटमा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा आगलागी भई तीन जना घाइते भएका छन्। आइतबार बिहान करिब १० बजे नलगाड नगरपालिका–२, छेप्कास्थित थालु प्रसाद जैशीको भान्सा कोठामा उक्त घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार ग्यास लिक भएको अवस्थामा उनकी श्रीमती ४२ वर्षीया माया जैशीले लाईटर बाल्ने क्रममा अचानक आगलागी भएको थियो। आगलागीमा परी माया जैशी, उनका २२ वर्षीय छोरा गणेश गौतम र ३७ वर्षीया रुपा जैसी घाइते भएका छन्।
प्रहरी निरीक्षक एक्क बहादुर नेपालीका अनुसार घाइतेहरूको नलगाड नगर अस्पतालमा उपचार भइरहेको छ। आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेकाे जनाएको छ ।

डोल्पा न्यूज । २९ चैत्र २०८२, आईतवार १२:३१