विष्णुप्रसाद देवकोटा
डोल्पाकाे दुर्गम गाउँबस्तीमा समेत ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवस भब्यरुवमा मनाइएकाे छ ।अवसरमा “महिला र बालिकाको लागि अधिकार: न्याय र कार्यस्थल सहितको अवसर” भन्ने राष्ट्रिय नारासहित सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हाे।
ठूलीभेरी नगरपालिका–६ नं. वडा कार्यालय, महिला हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गरिब तथा दलित उत्थान सेवा समिति तथा बालविवाह विरुद्धको साझ अभियान सञ्जाल डोल्पाको समन्वय, सहकार्य र साझेदारीमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा करिब १०० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
तात्तातातो चुनावी माहोल सेलाउन नपाउँदै दुर्गम हिमाली क्षेत्रका महिलाहरूले आफ्ना अधिकारको आवाजलाई अझ बलियो बनाउन महिला दिवस मनाएका हुन्। ठूलीभेरी–६ का महिलाहरूले महिला तथा बालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने सन्देशसहित कार्यक्रममार्फत सचेतना फैलाएका थिए।
कार्यक्रममा महिला तथा महिला अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाबारे जानकारी गराइँदै विशेषगरी बालविवाहले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे चर्चा गरिएको थियो। साथै २० वर्षपछि परिपक्व अवस्थामा विवाह गर्दा जीवनचक्रमा पर्ने सकारात्मक असरबारे फ्लिपचार्टमार्फत प्रस्तुति दिइएको रणबहादुर कार्कीले जानकारी गराए ।
कार्यक्रमको सहजीकरण गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका सचिव तथा बालविवाह रोकथामका लागि साझा अभियान सञ्जाल कर्णाली प्रदेश सदस्य रणबहादुर कार्कीले गर्नुभएको थियो।
सहभागीहरूले महिला दिवसको अवसरमा एकअर्काबीच शुभकामना आदानप्रदान गर्दै मौलिक पहिचान, परम्परागत संस्कृति र भेषभूषा झल्किने विभिन्न गीत तथा नृत्यसमेत प्रस्तुत गरेका थिए। कार्यक्रममा महिला अधिकार, लैङ्गिक समानता तथा बालविवाह अन्त्यका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रमले दुर्गम हिमाली समुदायमा महिला अधिकारप्रति चेतना अभिवृद्धि गर्दै समानता र सम्मानपूर्ण समाज निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिएको सहभागीहरूले बताएका छन्।

डोल्पा न्यूज । २४ फाल्गुन २०८२, आईतवार १९:५८