ताजा समाचार
बैंकिङ प्रणालीबाट आएको रकम गाउँलेलाई यार्चाको भुक्तानी गर्न लैजाँदै गरेको दाबी

५५ लाख ९० हजार नगद बरामद प्रकरण : स्रोत खुलेपछि यार्चा कारोबारी हाजिर जमानीमा रिहा

विष्णुप्रसाद देवकोटा
डोल्पा ।त्रिपुराकोट बगरबाट ५५ लाख ९० हजार रुपैयाँ नगदसहित पक्राउ परेका यार्चागुम्बा कारोबारी भक्तिचन्द्र रोकाया र विष्नलाल रोकाया हाजिरी जमानीमा रिहा भएका छन्।
बरामद रकमको स्रोत बैंकिङ कारोबार, कम्पनीसँगको सम्झौता तथा यार्चागुम्बा खरिद–बिक्रीसँग सम्बन्धित कागजातबाट खुल्दै गएपछि जिल्ला प्रहरी कार्यालयले उनीहरूलाई २०८३ साउन ४ गते हाजिरी जमानीमा छाड्न माग गरेको थियो।
प्रहरीले उनीहरूलाई मोटरसाइकलमा त्रिपुराकोटतर्फ जाँदै गरेको अवस्थामा ५५ लाख ९० हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको थियो।
बैंक खाताबाट नगदसम्मको कारोबार
अनुसन्धानका क्रममा प्रतिवादीहरूले बरामद रकम आधिकारिक कम्पनीहरूबाट बैंकिङ प्रणालीमार्फत प्राप्त भएको र यार्चागुम्बा उधारोमा बिक्री गरेका स्थानीय गाउँलेलाई भुक्तानी गर्न लैजाँदै गरेको बयान दिएका छन्।
बयानअनुसार ‘रलिङ्ग स्टोर’का लागि यार्चागुम्बा खरिद गरेका इन्डुङ रोकायासँग सम्बन्धित १५ लाख रुपैयाँ विभिन्न बैंक खातामार्फत प्राप्त भएको थियो। बैंकबाट एकै व्यक्तिको खाताबाट निकाल्न सकिने रकमको सीमाका कारण रकम विभिन्न खातामा जम्मा गरी पछि मात्र नगद निकालिएको दाबी गरिएको छ।
त्यस्तै, सरस्वती बोहोराले हिमाली टी एन्ड एन एग्रो फार्म प्रालिसँगको सम्झौताअनुसार संकलन गरेको ४ किलो ३०० ग्राम यार्चागुम्बाको भुक्तानीबापत कम्पनीले सरस्वती बोहोरा र उनका श्रीमान् हरिप्रसाद रोकायाका विभिन्न बैंक खातामा ४१ लाख रुपैयाँ जम्मा गरेको बयानमा उल्लेख छ।
उक्त रकमसमेत बैंकबाट झिकी यार्चा उधारोमा बिक्री गरेका गाउँलेलाई भुक्तानी गर्न संकलन गरिएको दाबी गरिएको छ।
५६ लाख बैंकमा, १० हजार खर्चपछि बाँकी ५५ लाख ९० हजार
बयानअनुसार रलिङ्ग स्टोरबाट प्राप्त १५ लाख रुपैयाँ र हिमाली टी एन्ड एन एग्रो फार्म प्रालिबाट प्राप्त ४१ लाख रुपैयाँ गरी जम्मा ५६ लाख रुपैयाँ बैंकिङ प्रणालीमार्फत संकलन गरिएको थियो।
दुनैमा बस्दा खाना तथा बासमा १० हजार रुपैयाँ खर्च भएपछि बाँकी ५५ लाख ९० हजार रुपैयाँ यार्चागुम्बा उधारोमा बिक्री गरेका स्थानीयलाई भुक्तानी गर्न लैजाँदै गर्दा आफूहरू पक्राउ परेको उनीहरूले बताएका छन्।
भक्तिचन्द्र रोकायाले नगद बोकेको र विष्नलाल रोकायाले मोटरसाइकल चलाएको अवस्थामा उनीहरू त्रिपुराकोट बगरमा प्रहरी नियन्त्रणमा परेका थिए।
बरामद रकम अवैध कारोबारको होइन’
सरस्वती बोहोराले ४१ लाख रुपैयाँ यार्चागुम्बा खरिद गरेका गाउँलेलाई भुक्तानी गर्न बैंकबाट नगद झिकी प्रतिनिधि भक्तिचन्द्र रोकायालाई दिएको बयान दिएकी छन्।
त्यस्तै, इन्डुङ रोकायाले रलिङ्ग स्टोरका लागि उधारोमा खरिद गरेको यार्चागुम्बाको भुक्तानी गर्न संकलन गरेको १४ लाख ९० हजार रुपैयाँसमेत सोही रकममा जोडिएको बयानमा उल्लेख छ।
प्रतिवादीहरूको दाबीअनुसार बरामद ५५ लाख ९० हजार रुपैयाँ माछापुच्छ्रे बैंकबाट कम्पनीले जडिबुटी खरिदका लागि लिएको ऋण तथा आधिकारिक बैंकिङ कारोबारमार्फत प्रतिनिधिहरूको खातामा आएको रकम भएकाे खुलेकाे छ ।
उनीहरूले उक्त रकम कुनै अवैध कारोबारको नभई यार्चागुम्बा उधारोमा बिक्री गरेका स्थानीय गाउँलेलाई भुक्तानी गर्न संकलन गरिएको बताएका छन्।
रकमको स्रोत बैंकिङ कारोबार, कम्पनीसँगको सम्झौता, यार्चागुम्बा संकलन तथा खरिदसम्बन्धी अनुमति र कारोबारसँग सम्बन्धित कागजातबाट खुलेको बताइएको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अनिलराज गिरीले आराेपितहरुकाे बयान सकिएपछि कानुनमा भएकाे ब्यवस्था बमाेजिम सरकारी वकिलकाे सहमतिमा हाजिरी जमानीमा छाडिएकाे तर अनुसन्धान जारी रहेकाे बताए ।

तपाईको प्रतिक्रिया