विष्णुप्रसाद देवकोटा
डोल्पाका दुई स्थानीय तहले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत स्वीकृत योजना तथा कार्यक्रमको भुक्तानी कार्य निर्धारित समयमै सम्पन्न भएको जनाउँदै वित्तीय तथा भौतिक प्रगति विवरण सार्वजनिक गरेका छन्।
ठूलीभेरी नगरपालिकाले असार २६ गते जारी सूचनामार्फत आर्थिक वर्ष २०८२/०८३ मा स्वीकृत योजना तथा कार्यक्रमअन्तर्गत कार्यालयमा पेश भएका सबै वित्तीय कारोबारको भुक्तानी सम्पन्न भएको जनाएको छ। नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमा योगदान पुर्याउने नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति, निर्माण व्यवसायी, विकास साझेदार, सरकारी कार्यालय, सञ्चारकर्मी तथा नागरिक समाजप्रति धन्यवाद व्यक्त गरेको छ।
नगरपालिकाका अनुसार चालु खर्चतर्फ ८६.१५ प्रतिशत, पुँजीगत खर्चतर्फ ७५.२६ प्रतिशत र औसत कुल खर्च ८२.४४ प्रतिशत रहेको छ।
यस्तै, मुद्केचुला गाउँपालिकाले पनि आर्थिक वर्ष २०८२/०८३ का स्वीकृत योजना तथा कार्यक्रमअन्तर्गत सम्पन्न भएका सबै वित्तीय कारोबारको भुक्तानी सफलतापूर्वक सम्पन्न भएको जनाएको छ। गाउँपालिकाले भुक्तानी प्रक्रियामा सहयोग गर्ने सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी वर्षमा पनि यस्तै सहकार्यको अपेक्षा गरेको उल्लेख गरेको छ।
गाउँपालिकाको सार्वजनिक विवरणअनुसार चालु खर्च ९२.७० प्रतिशत, पुँजीगत खर्च ३७.६५ प्रतिशत तथा औसत कुल प्रगति ५८.६८ प्रतिशत रहेको छ।
दुवै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ मा पनि बजेट तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति, निर्माण व्यवसायी, विकास साझेदार र स्थानीयवासीको निरन्तर सहयोग र समन्वय आवश्यक रहेको बताएका छन्।ठुलिभेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्ताेष खड्का र मुड्केचुला गाउँपालिकाका प्रशासकीय अधिकृत श्यामकृष्ण आचार्यद्वारा हस्ताक्षरित सार्वजनिक गरिएका छुट्टाछुट्टै पत्रहरुमा चालू तथा पुजिगत खर्चकाे प्रगति विवरण सार्वजनिक गरिएकाे हाे ।
ठूलीभेरी नगरपालिकाको औसत खर्च ८२.४४ प्रतिशत, मुद्केचुला गाउँपालिकाको ५८.६८ प्रतिशत
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २६ असार २०८३, शुक्रबार २१:२६