विष्णुप्रसाद देवकोटा
डोल्पा । जिल्लाको समग्र आर्थिक अवस्थाको यथार्थ चित्रण गर्ने उद्देश्यसहित आर्थिक गणना २०८२ सम्बन्धी डाेल्पमा जिल्ला स्तरीय सचेतना गोष्ठी गरिएकाे छ ।
जिल्ला आर्थिक गणना कार्यालय डोल्पाको आयोजनामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा शनिबार आयोजित कार्यक्रममा सरोकारवालाहरूको सहभागितामा उक्त कार्यक्रम गरिएकाे हाे ।
नेपालभित्र सञ्चालनमा रहेका विभिन्न प्रकारका प्रतिष्ठान तथा व्यवसायहरूको तथ्यांक संकलनमार्फत देशको आर्थिक संरचना र गतिविधिको स्पष्ट चित्र प्राप्त गर्ने लक्ष्यका साथ सचेतना गाेष्ठीकाे आयोजना गरिएको हाे ।आर्थिक गणनाको आवश्यकता, उद्देश्य र महत्वबारे जानकारी गराइएको थियो।
गाेष्ठीमा जिल्ला आर्थिक गणना अधिकारी प्रेमबहादुर डांगीले आर्थिक गणनाको कार्यक्षेत्र, उद्देश्य, तथ्यांक संकलन प्रक्रिया तथा सरोकारवाला निकायहरूको भूमिकाबारे प्रकाश पारेका थिए ।
दोस्रो आर्थिक गणनाअन्तर्गत तथ्यांक संकलन कार्य डाेल्पामा २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने छ। तथ्यांक संकलन प्रत्यक्ष अन्तर्वार्ता तथा ई–सेन्सस विधिबाट समेत गरिने कार्यक्रममा जानकारी गराइएकाे थियाे ।
कार्यक्रममा सहभागीहरूले आर्थिक गणनालाई सफल बनाउन आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले आर्थिक गणना देशको आर्थिक गतिविधि तथा व्यवसायिक संरचनाको वास्तविक अवस्था बुझ्ने महत्वपूर्ण आधार भएकाेले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालाको सहभागिता अपरिहार्य रहेको बताईन ।
यद्यपि अहिलेकाे अवस्थामा पनि डाेल्पाकाे यथार्थ डाटा खाेज्दा नपाइने भेटाउनै मुश्किल हुने गरेकाेमा हिमाली र दुर्गम डाेल्पाकाे लागि आर्थिक गणना कार्यक्रम थप महत्त्वपूर्ण रहेकाे उल्लेख गरिन।
प्रमुख जिल्ला अधिकारी जनु हमाल ढकालकाे अध्यक्षता जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकायाकाे प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी प्रमुख डिएसपी रुकबहादुर खड्का अनुसन्धान प्रमुख सन्ताेष ओझा जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी रमेश पाैडेल लगायत विभिन्न पेशागत संघ–संस्थाका प्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो।

डोल्पा न्यूज । २१ चैत्र २०८२, शनिबार १०:५१