ताजा समाचार

महोत्सवको बम्पर उपहार बलबहादुरको भाग्यमा, चार लाखको बाइक हातमा

विष्णुप्रसाद देवकोटा
डोल्पामा सम्पन्न दोस्रो डोल्पा पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३ को बम्पर उपहार दुनैस्थित बिएण्डबी होटलका सञ्चालक बलबहादुर बुढाको भाग्यमा परेको छ ।
महोत्सवका क्रममा सञ्चालन गरिएको बम्पर उपहारको लक्की ड्रबाट बुढा करिब चार लाख रुपैयाँ बराबरको बाइक जित्ने भाग्यशाली विजेता बनेका हुन् ।
महोत्सव आयोजक समितिका अध्यक्ष कमल बुढाका अनुसार चिठ्ठामार्फत गरिएको लक्की ड्रबाट बम्पर उपहारका विजेता छनोट गरिएको हो । विजेता बुढालाई आयोजक समितिका अध्यक्ष बुढाले बाइकको चाबी हस्तान्तरण गरेका छन् ।
महोत्सवको समापनसँगै सार्वजनिक गरिएको बम्पर उपहारले महोत्सवको आकर्षणलाई थप रोचक बनाएको थियो ।
डोल्पाको पर्यटन, संस्कृति, कला, मौलिक परम्परा तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो डोल्पा पर्यटन तथा सांस्कृतिक महोत्सव १८ दिनसम्म सञ्चालन भएको थियो ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरका चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति, स्थानीय कला–संस्कृति, भेषभूषा, मौलिक परम्परा तथा स्थानीय उत्पादनको प्रदर्शन गरिएको थियो ।
१८ दिनसम्म चलेको महोत्सवको अन्तिम आकर्षण बनेको बम्पर उपहारले बलबहादुर बुढालाई चार लाख रुपैयाँ बराबरको बाइकसहित ‘भाग्यशाली विजेता’ बनाएको छ ।

तपाईको प्रतिक्रिया