विष्णुप्रसाद देवकोटा
डोल्पा । डोल्पाको पर्यटन, स्थानीय कला–संस्कृति तथा उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित दोस्रो डोल्पा पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३ आयोजना हुने भएको छ।
ठूलीभेरी नगरपालिका–दुनैस्थित रंगशालामा आगामी साउन ८ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
डोल्पाका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको व्यापक प्रचारप्रसार गर्दै जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ। त्यसैगरी, स्थानीय कृषि उपज, जडीबुटी, हस्तकला तथा घरेलु उत्पादनको प्रदर्शनी र बिक्रीमार्फत डोल्पाका उत्पादनलाई बजारसँग जोड्ने लक्ष्यसमेत राखिएको छ।
महोत्सव केवल मनोरञ्जनमा सीमित नभई डोल्पाको पर्यटन, व्यापार तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने साझा अभियानका रूपमा आयोजना गर्न लागिएको आयोजक कमल बुढाले बताए।
महोत्सवमा डोल्पासहित कर्णाली प्रदेशका विभिन्न जिल्लाका कलाकार तथा सांस्कृतिक समूहले मौलिक कला, संस्कृति र परम्परा झल्किने प्रस्तुति दिनेछन्। राष्ट्रियस्तरका चर्चित कलाकारहरू प्रकाश सपुत, दुर्गेश थापा, सुमन बिसी र ज्योति मगरलगायतका कलाकारको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
स्थानीय कलाकार तथा सांस्कृतिक समूहका प्रस्तुतिमार्फत डोल्पाको मौलिक जीवनशैली, परम्परा र सांस्कृतिक पहिचानलाई राष्ट्रिय दर्शकमाझ पुर्याउने अपेक्षा गरिएको छ।
महोत्सवले जिल्लामा आन्तरिक पर्यटकको आगमन बढाउनुका साथै स्थानीय व्यापार–व्यवसायलाई गति दिने, युवालाई सिर्जनात्मक गतिविधिमा जोड्ने र मौलिक कला–संस्कृतिको संरक्षणमा योगदान पुर्याउने विश्वास आयोजकले लिएको छ।
ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाको संरक्षणमा आयोजना हुन लागेको महोत्सवमा हजारौँ दर्शक तथा आन्तरिक पर्यटक सहभागी हुने अपेक्षा गरिएको छ।
महोत्सवको प्रचारप्रसार तथा सञ्चार सहकार्यका लागि मिडिया पार्टनरका रूपमा डोल्पान्युज अनलाइन, फोक्सुण्डो खबर, साझा कर्णाली, रेडियो डोल्पा एफएम, कान्जिरोवा पोस्ट, रंगीन पाटी, नेपालइन्फर्म र इमानदार खबर रहेका छन्।
डोल्पाको पर्यटन र स्थानीय उत्पादनको ‘ब्रान्डिङ’ गर्न दोस्रो पर्यटन तथा सांस्कृतिक महोत्सव
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ७ श्रावण २०८३, बिहीबार १०:४१