ताजा समाचार

बालविवाह मुक्त अभियान:नगरप्रमुख–उपप्रमुखलाई ३२ बुँदे ध्यानाकर्षण, विद्यालयमा अन्तरक्रिया

विष्णुप्रसाद देवकोटा
डोल्पा।बालविवाह विरुद्ध साझा अभियान सञ्जाल, कर्णाली प्रदेशले त्रिपुरासुन्दरी नगरपालिकालाई सन् २०३० भित्र बालविवाहमुक्त पालिका घोषणा गर्ने लक्ष्यसहित नगरप्रमुख जनचन्द्र रोकाया र उपप्रमुख देवी घर्तीलाई संयुक्त रूपमा ३२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।
२०८३ असार २२ गते बुझाइएको ध्यानाकर्षण पत्रमा नेपालको संविधान, दिगो विकास लक्ष्य बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति–२०८१ तथा कर्णाली प्रदेशको रणनीति–२०८२ ले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य लिएको उल्लेख गर्दै त्रिपुरासुन्दरी नगरपालिकाले तयार पारेको बालविवाह अन्त्यसम्बन्धी रणनीतिक योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ।
सञ्जालले नगरपालिकाले हालसम्म गरेका प्रयासको प्रशंसा गर्दै अब बालविवाह अन्त्यलाई वार्षिक नीति तथा कार्यक्रममा उच्च प्राथमिकतासहित समावेश गरी पर्याप्त बजेट विनियोजन गर्न, तथ्याङ्क अद्यावधिक प्रणाली विकास गर्न, बालविवाहबाट प्रभावित बालबालिकाको संरक्षण तथा पुनःस्थापना गर्न, किशोर–किशोरीको नेतृत्व विकास र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।

ध्यानाकर्षण पत्रमा विवाहअघि वडा कार्यालयबाट शुभकामनासहितको सिफारिस पत्र दिने व्यवस्था, विद्यालय तथा वडामा बाल क्लब र किशोरी क्लब गठन, विद्यालय र समुदायमा सचेतना, अन्तरपुस्ता संवाद, अभिभावक शिक्षा, छात्रवृत्ति, अस्थायी सिकाइ केन्द्र तथा किशोर–किशोरीमैत्री प्रजनन स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने माग गरिएको छ।
त्यसैगरी जोखिममा रहेका परिवारका लागि सामाजिक सुरक्षा, जीविकोपार्जन तथा आर्थिक सशक्तीकरणका कार्यक्रम सञ्चालन, शिक्षाबाट वञ्चित बालबालिकाका लागि विशेष तथा आवासीय शिक्षाको व्यवस्था, वडा तहमा बालविवाह निगरानी तथा अन्त्य समिति गठन, अभियानमा योगदान गर्ने संस्था तथा व्यक्तिलाई सम्मान तथा पुरस्कारको व्यवस्था, लैङ्गिक हिंसा निवारण कोष र बाल कोष स्थापना, एकीकृत सूचना व्यवस्थापन प्रणाली विकास तथा मनोसामाजिक परामर्श सेवाको व्यवस्था गर्नुपर्ने विषय पनि ध्यानाकर्षण पत्रमा समेटिएको छ।
सञ्जालले नागरिक समाज, सरोकारवाला निकाय र स्थानीय तहबीच समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउँदै बालअधिकार संरक्षण र बालविवाह अन्त्यका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ।
ध्यानाकर्षण पत्रमा बालविवाह विरुद्ध साझा अभियान सञ्जाल, कर्णाली प्रदेशका सदस्य तथा अधिबक्ता समेत रहेका रणबहादुर कार्की, जिल्ला सञ्जाल डोल्पाकी सदस्य जुनु हिराचन तथा डीआई–डिग्निटी इनिसिएटिभ का परियोजना संयोजक लिला बहादुर टमाटाको हस्ताक्षर रहेको छ।
यसैबीच, सोही अभियानअन्तर्गत त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित त्रिपुराकोट माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत ४४ जना विद्यार्थीका लागि बालविवाह सम्बन्धी अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरिएको छ।

बालविवाह विरुद्ध साझा अभियान सञ्जाल, कर्णाली प्रदेशका सदस्य तथा गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेश समितिका सचिव एवं गरिब तथा दलित उत्थान सेवा समिति डोल्पाका कार्यकारी निर्देशक रणबहादुर कार्की र जिल्ला सञ्जाल डोल्पाकी सदस्य जुनु हिराचनको सहजीकरणमा सम्पन्न कार्यक्रममा बालविवाहको वर्तमान अवस्था, कानुनी व्यवस्था, बालअधिकार, शिक्षा, स्वास्थ्य, सामाजिक तथा कानुनी असर र यसको रोकथामका उपायबारे छलफल गरिएको थियो।
कार्यक्रममा बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, स्वतन्त्रता, रोजगारी र समग्र भविष्यमा गम्भीर नकारात्मक असर पार्ने भएकाले यसको अन्त्यका लागि परिवार, विद्यालय, समुदाय र स्थानीय सरकारको साझा सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।
ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख जनचन्द्र रोकाया र उपप्रमुख देवी घर्तीले आगामी आर्थिक वर्षमा बालविवाह अन्त्यसम्बन्धी आवधिक रणनीतिक योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै यस अभियानमा सञ्जालसँग निरन्तर समन्वय र सहकार्य गरिने बताएका छन्।

तपाईको प्रतिक्रिया