ताजा समाचार

बालात्रिपुरासुन्दरी मन्दिर व्यक्ति होइन, विधिले चल्नुपर्छ : ओमेन्द्र केसी

ओमेन्द्र केसी:समाजसेवी 

।डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटस्थित श्री बालात्रिपुरासुन्दरी मन्दिरको पूजा, भेटी, धार्मिक सम्पत्ति र समग्र व्यवस्थापनलाई व्यक्तिगत निर्णयबाट मुक्त गर्दै स्पष्ट नीति, पारदर्शिता र संस्थागत प्रणालीमा लैजानुपर्ने समाजसेवी  ओमेन्द्र केसीले बताएका छन्।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले महत्वपूर्ण मन्दिरको पुस्तौँ पुरानो पूजा परम्परालाई संरक्षण गर्दै वर्तमान व्यवस्थापनलाई थप व्यवस्थित र जवाफदेही बनाउनुपर्ने उनको सुझाव छ।
केसीका अनुसार मन्दिरको पूजा तथा व्यवस्थापनमा लामो समयदेखि न्यौपाने समुदायका नौ पट्टी पुजारीको महत्वपूर्ण भूमिका रहँदै आएको छ। वि.सं. २००० सालतिर कोट गाउँका न्यौपाने समुदायका पुजारीले लालमोहरमार्फत पूजा तथा व्यवस्थापनको जिम्मेवारी प्राप्त गरेको ऐतिहासिक मान्यता रहेको उल्लेख गर्दै उनले परम्परागत अधिकार र भूमिकालाई सम्मान गर्नुपर्ने बताएका छन्।
“पुर्खाले सुरु गरेको परम्परागत जिम्मेवारीलाई संरक्षण गर्नुपर्छ। तर परम्परालाई संरक्षण गर्ने नाममा व्यवस्थापन अस्पष्ट राख्नु हुँदैन। सबै पुजारीले एउटै लिखित नीति र कार्यविधि स्वीकार गरेर अघि बढ्नुपर्छ,” केसीले भने।
उनका अनुसार हाल नौ पट्टी पुजारीबीच व्यवस्थापनसम्बन्धी स्पष्ट लिखित कार्यविभाजन, एकरूपता र पर्याप्त समन्वयको अभाव देखिन्छ। फरक–फरक नियम र अभ्यास चल्ने अवस्था अन्त्य गरी पूजा, पालो, जिम्मेवारी र निर्णय प्रक्रियालाई लिखित बनाउनुपर्ने उनको भनाइ छ।
‘मन्दिरको सम्पत्ति निजी होइन’
केसीले मन्दिरका भेटी, गहना, शिला, मूर्ति, धार्मिक सामग्री तथा ऐतिहासिक कागजात कुनै व्यक्ति वा पुजारीको व्यक्तिगत सम्पत्ति नभएको स्पष्ट व्यवस्था हुनुपर्ने बताएका छन्।
“मन्दिरको भेटी, गहना, शिला, मूर्ति वा अन्य धार्मिक सम्पत्तिमा कुनै पुजारीको व्यक्तिगत स्वामित्व हुनु हुँदैन। मन्दिरको सम्पत्ति व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न पाउने अवस्था पनि रहनु हुँदैन,” उनले भने।
मन्दिरका अमूल्य शिला, मूर्ति, गहना, लालमोहर, सनद–सवाललगायत ऐतिहासिक तथा धार्मिक सामग्रीको विस्तृत अभिलेख तयार गरी सुरक्षित राख्नुपर्ने उनको सुझाव छ।
भेटी गणनादेखि बैंक खातासम्म पारदर्शिता
मन्दिरको भेटी व्यवस्थापनलाई संवेदनशील विषयका रूपमा लिएर पारदर्शी आर्थिक प्रणाली लागू गर्नुपर्ने केसीले बताएका छन्।
उनका अनुसार दानपेटिका तथा भेटी राख्ने बाकसमा सम्भव भएसम्म दोहोरो ताल्चा प्रणाली अपनाउनुपर्छ। चाबी एउटै व्यक्तिको नियन्त्रणमा नराखी प्रशासन, पालिका र मन्दिर व्यवस्थापनका प्रतिनिधिको उपस्थितिमा दानपेटिका खोल्ने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।
भेटी गणना गर्दा उपस्थित व्यक्तिको हस्ताक्षरसहित मुचुल्का तयार गर्ने, रकमको अभिलेख राख्ने र सम्भव भएसम्म मन्दिर, गुठी वा अधिकारप्राप्त संस्थाको नाममा बैंक खाता खोली रकम जम्मा गर्ने प्रणाली आवश्यक रहेको उनले बताए।
“भेटी कति उठ्यो, कसरी गणना भयो, कहाँ जम्मा भयो र कहाँ खर्च भयो भन्ने कुरा स्पष्ट अभिलेखमा देखिनुपर्छ। पारदर्शिता नै विवाद न्यूनीकरण गर्ने आधार हो,” केसीले भने।
अनुसन्धानमा रहेकालाई दोषी ठहर गर्न नहुने
मन्दिरमा धार्मिक तथा ऐतिहासिक सम्पत्तिसँग सम्बन्धित चोरीका घटना र पछिल्लो भेटी प्रकरणले व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता देखाएको केसीको भनाइ छ।
तर अनुसन्धानमा रहेका कुनै पनि व्यक्तिलाई प्रमाणित तथ्य र कानुनी निर्णयअघि दोषी ठहर गर्न नहुने उनले स्पष्ट पारे।
“अनुसन्धानमा रहेका कुनै पनि व्यक्तिलाई प्रमाणित तथ्य र कानुनी निर्णयविना दोषारोपण गर्नु उचित हुँदैन। निष्पक्ष अनुसन्धान हुनुपर्छ। यस्तो अवस्थामा न पदले काम गर्छ, न पहुँचले काम गर्छ। तथ्य र कानूनकै आधारमा विषयको निरूपण हुनुपर्छ,” केसीले भने।
धार्मिक अधिकार र प्रशासनिक जिम्मेवारी छुट्याउनुपर्ने
परम्परागत पुजारीको धार्मिक अधिकार र मन्दिरको प्रशासनिक, आर्थिक तथा सम्पत्ति व्यवस्थापनको जिम्मेवारी स्पष्ट रूपमा छुट्याउनुपर्ने केसीको सुझाव छ।
यदि सम्बन्धित गुठीसम्बन्धी कानुनी निर्णयअनुसार मन्दिर व्यवस्थापन पालिकामातहत रहने व्यवस्था लागू हुने हो भने त्यसको स्पष्ट कानुनी आधार, अधिकार, जिम्मेवारी र कार्यविधिसहित कार्यान्वयन गर्नुपर्ने उनले बताए।
“पुजारीको धार्मिक जिम्मेवारी र संस्थागत निकायको प्रशासनिक तथा आर्थिक जिम्मेवारीबीच स्पष्ट सीमा निर्धारण गर्न सकियो भने परम्परा पनि जोगिन्छ र व्यवस्थापन पनि व्यवस्थित हुन्छ,” केसीले भने।
‘एक व्यक्तिको निर्णय होइन, संस्थागत निर्णय’
मन्दिर व्यवस्थापनका लागि पुजारीका प्रतिनिधि, सम्बन्धित गुठी, वडा तथा पालिका, स्थानीय समुदाय, ज्येष्ठ नागरिक र धार्मिक जानकारसमेतको प्रतिनिधित्व हुने गरी कानूनअनुसार व्यवस्थापन संरचना बनाउनुपर्ने उनको सुझाव छ।
मन्दिरका महत्वपूर्ण विषयमा एक व्यक्तिको निर्णय लागू हुने अवस्था अन्त्य गरी संस्थागत निर्णय प्रणाली विकास गर्नुपर्ने केसीले बताए।
त्यस्तै मन्दिरका महत्वपूर्ण स्थानमा आवश्यकताअनुसार सीसीटीभी जडान गर्ने, धार्मिक सामग्री भएको स्थानमा अनधिकृत प्रवेश रोक्ने, सुरक्षित ताल्चा तथा सुरक्षा व्यवस्था मिलाउने र चोरी, आगलागी तथा अन्य आपत्कालीन अवस्थाका लागि सुरक्षा योजना बनाउनुपर्ने उनको सुझाव छ।
‘अब सबै सरोकारवाला एक ठाउँमा बस्नुपर्छ’
केसीले नौ पट्टी पुजारी, गुठी, स्थानीय समुदाय, वडा तथा पालिका, प्रशासन र सम्बन्धित धार्मिक तथा पुरातात्त्विक निकायबीच औपचारिक छलफल गरी मन्दिरको पूजा, भेटी, सम्पत्ति र व्यवस्थापनसम्बन्धी स्पष्ट लिखित नीति बनाउनुपर्ने बताएका छन्।
“श्री बालात्रिपुरासुन्दरी मन्दिर कुनै एक व्यक्ति वा एक पट्टी परिवारको निजी घरजस्तो सञ्चालन हुने स्थान होइन। यो पुस्तौँदेखि धार्मिक आस्था, परम्परा र सांस्कृतिक इतिहास बोकेको महत्वपूर्ण धार्मिक धरोहर हो,” केसीले भने।
उनका अनुसार परम्परागत नौ पट्टी पुजारीको भूमिकालाई सम्मान गर्दै उनीहरूबीच एकता, मेलमिलाप र पारस्परिक विश्वास कायम गर्नुपर्छ। साथै मन्दिरको भेटी, सम्पत्ति र प्रशासनिक व्यवस्थापनलाई व्यक्तिको व्यक्तिगत निर्णयमा निर्भर नराखी लिखित नीति, स्पष्ट जिम्मेवारी, पारदर्शिता र जवाफदेहिताको संस्थागत प्रणालीमा लैजान आवश्यक छ।
“मन्दिर सबैको आस्थाको केन्द्र हो। यसको व्यवस्थापन व्यक्तिगत इच्छाभन्दा लिखित नीति, पारदर्शिता, परम्परा र कानूनअनुसार हुनुपर्छ। सबै सरोकारवाला एक ठाउँमा बसेर आजैदेखि स्पष्ट नीति बनाउन सके मन्दिरको धार्मिक गरिमा, ऐतिहासिक परम्परा, सम्पत्ति र भावी पुस्ताको आस्थालाई सुरक्षित राख्न सकिन्छ,” केसीले भने।

तपाईको प्रतिक्रिया