ताजा समाचार

६६ वर्षको इतिहास बोकेको त्रिपुरा माबि काटियाचाैर अझै प्रस्तावित मावि : दुईकोठे ट्रस भवन उद्घाटन

विष्णुप्रसाद देवकोटा
डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–केन्द्रमा रहेको त्रिपुरा माबि काटियाचाैरले ६६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदै दुईकोठे ट्रस भवन उद्घाटन तथा हस्तान्तरण गरेको छ। नेपाल सरकार, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, सानोठिमी भक्तपुरको आर्थिक सहयोगमा निर्माण भएको भवनमा श्रमदानसहित ३७ लाख ८१ हजार रुपैयाँ लगानी भएको विद्यालयले जनाएको छ।
भवनको उद्घाटन त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकायाले गरे। कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाका प्रमुख डायमण्ड जी पुन विशेष अतिथिका रूपमा सहभागी थिए।
वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तुलबहादुर विष्टले विद्यालयको शैक्षिक प्रगति, विद्यमान चुनौती, आगामी दिनमा गर्नुपर्ने काम तथा विद्यालयको आय–व्यय विवरण सार्वजनिक गरेका थिए। विद्यालयले हासिल गरेका उपलब्धिसँगै देखिएका समस्या र आगामी आवश्यकता अभिभावक तथा सरोकारवालासमक्ष प्रस्तुत गर्दै विद्यालयको गुणस्तरीय शैक्षिक विकासका लागि थप सहयोग र सहकार्य आवश्यक रहेको उनले बताए।
विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासमा योगदान पुर्‍याउने पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष ९१ वर्यिय रविप्रसाद न्याैपाने,गाैरीशंकर उपाध्याय देविकृष्ण उपाध्याय समाजसेवी दिलबहादुर विष्ट सञ्चारकर्मी विष्णुप्रसाद देवकोटा नगरप्रमुख जनचन्द्र राेकाया उपप्रमुख देवी घर्ती र शिक्षा विकास तथा समन्वय इकाई प्रमुख डायमण्ड जी पुन शैक्षणिक स्राेत ब्यक्ति नविनकुमार शाहीलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रममा विद्यालयका बालबालिकाले विभिन्न सांस्कृतिक झलक प्रस्तुत गरेका थिए। विद्यार्थीका सांस्कृतिक प्रस्तुति र प्रतिभाले वार्षिकोत्सवलाई थप जीवन्त बनाएको थियो।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकादत्त न्यौपानेले गर्नुभएको थियो।
२०१७ सालमा स्थापना भएको यो विद्यालय ६६ वर्षको इतिहास बोकेर पनि अहिले प्रस्तावित माध्यमिक विद्यालयकै रूपमा सञ्चालनमा छ। नगरपालिकाको केन्द्रमै रहेको पुरानो शैक्षिक संस्था अझै पूर्ण माध्यमिक विद्यालयका रूपमा स्थापित हुन नसक्नु आफैँमा ध्यान दिनुपर्ने विषय हो।
विद्यालयको नयाँ भवन निर्माणले भौतिक पूर्वाधारतर्फ एउटा आवश्यकता सम्बोधन गरे पनि विद्यालयको दीर्घकालीन विकासका लागि भवन मात्र पर्याप्त हुँदैन। गुणस्तरीय शिक्षा, आवश्यक शिक्षक तथा जनशक्ति, तहगत स्वीकृति, प्रविधिमैत्री सिकाइ र थप भौतिक पूर्वाधारको सुनिश्चितता उत्तिकै आवश्यक छ।
स्थानीय सरकारलाई विद्यालयको नजिकको अभिभावक मानिन्छ। त्यसैले नगरकेन्द्रकै मुटुमा रहेको ६६ वर्ष पुरानो यस विद्यालयलाई प्रस्तावित अवस्थाबाट पूर्ण माध्यमिक तहमा स्तरोन्नति गर्दै शैक्षिक तथा भौतिक रूपमा सबल बनाउनेतर्फ नगरपालिकाको नीतिगत अभिभावकत्व र प्राथमिकता अब व्यवहारमै देखिनुपर्ने आवश्यकता छ।

तपाईको प्रतिक्रिया