विष्णुप्रसाद देवकोटा
डोल्पा ।हिमाली जिल्ला डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाको १४औँ हिउँदे नगरसभा अन्तर्गत उद्घाटन सत्र सम्पन्न भएको छ।
आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित बजेट तथा कार्यक्रमको प्रगति विवरण सार्वजनिक गर्दै नगरसभाको उद्घाटन गरिएको हो।कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय प्रमुख श्यामबहादुर राेकाया र नगरप्रमुख जनचन्द्र राेकायाले पानसमा बत्ती बालेर ब्यानेर खाेलेर नगरसभाकाे उद्घाटन गरे ।
उद्घाटन सत्रमा प्रस्तुत विवरणअनुसार पुँजीगततर्फ वार्षिक बजेट १३ करोड ५२ लाख १० हजार रुपैयाँमध्ये हालसम्म ६७ लाख ९६ हजार ८५२ रुपैयाँ मात्र खर्च भएको छ, जसको खर्च प्रतिशत ५.०२ रहेको छ।
त्यसैगरी चालूतर्फ ३९ करोड ५२ लाख १२ हजार रुपैयाँ बजेटमध्ये १५ करोड ८ लाख २३ हजार ९०६ रुपैयाँ खर्च भएको छ। यससँगै कुल ५३ करोड ४ लाख २२ हजार ३० रुपैयाँ ८६ पैसाको बजेटमध्ये समग्र खर्च २९.७१ प्रतिशत पुगेको जनाइएको छ।
सामाजिक सुरक्षाभत्ता अन्तर्गत २ करोड ३५ लाख ४३ हजार १६६ रुपैयाँ वितरण गरिएको छ भने राजश्व संकलन १८ लाख ४९ हजार ४४४ रुपैयाँ भएको छ। फागुन मसान्तसम्म ३१ वटा योजनामध्ये १२ वटा योजनामात्र सम्झौता भएको तथ्य पनि सार्वजनिक गरिएको छ।
निमित्त प्रमुख प्रशासकीय प्रमुख थानेश्वर पनेरु ले प्रगति विवरण प्रस्तुत गर्दै लामो समयसम्म प्रमुख प्रशासकीय प्रमुख नहुँदा योजना तथा कार्यक्रम कार्यान्वयनमा ढिलाइ भएको बताए।
नगरप्रमुख जनचन्द्र रोकाया को अध्यक्षता तथा जिल्ला समन्वय प्रमुख श्याम बहादुर रोकायाको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रपछि भोलिबाट सुरु हुने बन्दसत्रले विनियोजित बजेट कार्यक्रम छनोट गर्ने जनाइएको छ।
नगरसभाको बन्दसत्रमा वार्षिक कार्यक्रम तथा योजनाको समिक्षा, आवश्यक संशोधन तथा कार्यान्वयनका विषयमा निर्णय गरिने निमित्त प्रमुख प्रशासकीय अभिकृत पनेरुले जानकारी दिए ।
उद्घाटन सत्रमा ११ वटै वडाका वडाअध्यक्ष पुर्ववडाअध्यक्ष विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि नागरिक समाज संचारकर्मी अन्तरपाटी महिला सन्जाल र दिदिबहिनी समूहका प्रतिनिधि लगायतकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

डोल्पा न्यूज । ८ चैत्र २०८२, आईतवार १९:०१