ताजा समाचार

डाेल्पा त्रिपुराकाेटबाट ५५ लाख रुपैयाँसहित दुई जना प्रहरी नियन्त्रणमा,स्राेतबारे अनुसन्धान जारी

विष्णुप्रसाद देवकोटा
डोल्पा।
हिमाली जिल्ला डोल्पामा गरिएको संयुक्त सुरक्षा चेकजाँचका क्रममा झण्डै ५५ लाख ९० हजार रुपैयाँ नगदसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद रकमको स्रोत, वैधानिकता तथा त्यससँग सम्बन्धित संलग्नताबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बुधबार त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोट बगर बजार क्षेत्रमा जिल्ला प्रहरी कार्यालय डोल्पा, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालयको समन्वयमा गरिएको आकस्मिक सुरक्षा चेकजाँचका क्रममा त्रिपुरासुन्दरी नगरपालिका–७ का दुई जनाको साथबाट ठूलो परिमाणमा नगद बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले नियन्त्रणमा लिइएका दुवैमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनका अनुसार मुचुल्का उठाउने तथा रकमको स्रोतबारे अनुसन्धान जारी छ।
“ठूलो परिमाणमा रकम बरामद भएको छ। प्रारम्भिक रूपमा आधा करोड हाराहारी देखिएको छ। नियन्त्रणमा रहेका व्यक्तिमाथि अनुसन्धान भइरहेको छ। रकमको यकिन विवरण र यसको स्रोतबारे अनुसन्धानपछि सार्वजनिक गरिनेछ,” डीएसपी गिरीले बताए।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार लागूऔषध ओसारपसार नियन्त्रणका लागि सञ्चालन गरिएको आकस्मिक सुरक्षा चेकजाँचकै क्रममा उक्त नगद फेला परेको हो।
उनले प्रारम्भिक गणनाअनुसार ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको जानकारी दिँदै रकमको वैधानिकता र उद्देश्यबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको बताइन्।
प्रहरीका अनुसार बरामद नगदको स्रोत, कानुनी हैसियत तथा नियन्त्रणमा रहेका व्यक्तिको सम्भावित संलग्नताबारे प्रमाणका आधारमा अनुसन्धान भइरहेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि घटनाको विस्तृत विवरण सार्वजनिक गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया