ताजा समाचार

सहकारीमाथि नगरपालिकाको कडाइ,सूचना व्यवस्थापन प्रणालीमा अनिवार्य आबद्ध हुनु पर्ने

विष्णुप्रसाद देवकोटा

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ले पालिकाभित्र सञ्चालनमा रहेका सहकारी संस्थालाई व्यवस्थित र पारदर्शी बनाउन कडाइ सुरु गरेको छ ।

दर्ता नवीकरण नगर्ने तथा नगरपालिकामा अध्यावधिक नभएका सहकारी संस्थाको संख्या बढ्दै गएपछि नगरपालिकाले सबै सहकारीलाई सहकारी सूचना व्यवस्थापन प्रणालीमा आबद्ध गराउने तयारी गरेको हो ।

नगरपालिकाले सूचना जारी गर्दै पालिकाभित्र दर्ता भएका तथा अन्य निकायबाट हस्तान्तरण भई सञ्चालनमा रहेका सबै सहकारी संस्थाका पदाधिकारीलाई सहकारी सूचना व्यवस्थापन प्रणाली सम्बन्धी तालिममा सहभागी हुन आग्रह गरेको छ ।

सूचना अधिकारी हेमन्त शाहीका अनुसार सहकारी सुशासन कायम गर्ने, अभिलेख व्यवस्थापन सुधार गर्ने तथा सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको हो ।
तालिम जेठ ५ र ६ गते बिहान १० बजेदेखि नगरपालिकाको सभा हलमा सञ्चालन हुनेछ । नगरपालिकाले सबै सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष र सचिवलाई अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरेको जनाएको छ ।
पछिल्लो समय सहकारी संस्थाको अभिलेख अद्यावधिक नहुने, आर्थिक गतिविधि पारदर्शी नदेखिने तथा नियमन प्रभावकारी नभएको गुनासो बढिरहेका बेला नगरपालिकाको यो कदमलाई सहकारी क्षेत्र सुधारको प्रयासका रूपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया