ताजा समाचार

काइके गाउँपालिकाद्वारा एमाले डाेल्पा उम्मेदवारकाे अभिव्यक्ति प्रति आपत्ति 

डोल्पा ।काइके गाउँपालिकाले प्रतिनिधि सभा निर्वाचन अभियानका क्रममा नेकपा एमालेबाट डोल्पा प्रतिनिधि सभा सदस्यका उम्मेदवार लंक रोकायाले सार्वजनिक रूपमा व्यक्त गरेका अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गाउँपालिकाले २०८२ फागुन ५ गते जारी प्रेस विज्ञप्तिमार्फत सामाजिक सुरक्षा, सडक निर्माण र कृषि विकाससम्बन्धी टिप्पणीहरू तथ्यहीन र भ्रामक भएको दाबी गर्दै खण्डन गरेको हो।

विज्ञप्तिमा सामाजिक सुरक्षा भत्ता वितरणमा अव्यवस्था भएको भन्ने आरोप अस्वीकार गर्दै लाभग्राहीको विवरण अद्यावधिक तथा बैंकिङ प्रक्रियाका कारण कहिलेकाहीँ ढिलाइ देखिए पनि समग्र प्रणाली व्यवस्थित रहेको उल्लेख गरिएको छ। प्राकृतिक कारण हिउँ जम्ने, पानी जम्ने जस्ता मौसमी अवरोधका कारण अस्थायी समस्या देखिए पनि गाउँपालिकाभित्र ‘एक घर, एक धारा’ कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको जनाइएको छ।

सडकतर्फ भेरी करिडोरअन्तर्गत पर्ने ल्हासिपक्याप सडक खण्डको २८ करोड रुपैयाँ बराबरको ठेक्का २०७९ साल चैत १७ गते आह्वान भइसकेको र निर्माण कार्यलाई गति दिन पटक–पटक पहल तथा समन्वय भइरहेको गाउँपालिकाले जनाएको छ। ठेकेदारको ढिलासुस्तीका कारण काम प्रभावित भए पनि सम्बन्धित निकायमार्फत निरन्तर दबाब र समन्वय भइरहेको उल्लेख छ।

वडा नं. १, २, ३, ६ र ७ मा सडक ट्र्याक खुलिसकेको तथा वडा नं. ४ र ५ मा ट्र्याक खोल्ने कार्य तीव्र गतिमा अघि बढिरहेको जानकारी विज्ञप्तिमा समेटिएको छ। विकट भौगोलिक अवस्थाका बाबजुद कृषि उत्पादन बढाउन स्याउ, खुर्सानीलगायतका बाली विस्तार र सिँचाइ सुविधा पुर्‍याउने कार्य विभिन्न वडामा सम्पन्न गरिएको दाबी गरिएको छ।

गाउँपालिकाले राजनीतिक टिप्पणीका नाममा गरिने आधारहीन आरोपले स्थानीय तहका प्रयासलाई कमजोर पार्ने चेतावनी दिँदै यथार्थ तथ्य बुझेर मात्र सार्वजनिक अभिव्यक्ति दिन सम्बन्धित पक्षलाई आग्रह गरेको छ। गाउँपालिका अध्यक्ष अङ्गद राना मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा विकास निर्माणका कार्यलाई राजनीतिक रंग नदिन सबै सरोकारवाला सँग अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया