ताजा समाचार

डाेल्पा ठुलिभेरीनगरकाे १६ औँ हिउँदे सभा: ४२ प्रतिशत बजेट खर्च: 

विष्णुप्रसाद देवकोटा

सम्बृद्द नगर सुखि नगरबासी भन्ने मुलनाराका साथ ठुलिभेरी नगरपालिकाको १६औँ हिउँदे अधिवेशन सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन नगरप्रमुख सुवर्ण बुढा र उपप्रमुख छिरिङ टोल्मा महतले संयुक्त रूपमा पानसमा बत्ती बालेर गरेका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख सुवर्ण बुढाले अघिल्लो नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट कागजमा मात्र सीमित नरही व्यवहारमै कार्यान्वयन हुँदै परिणाममुखी दिशामा अघि बढिरहेको बताए।

उनले सीमित स्रोतसाधन र विभिन्न चुनौतीका बाबजुद नगरले उल्लेखनीय विकास उपलब्धि हासिल गरेको उल्लेख गर्दै यसलाई कर्मचारी, नगरवासी तथा सरोकारवालाको साझा प्रयास र सकारात्मक खबरदारीको परिणाम भएको बताए।

उनका अनुसार ‘जनतासँग मेयर–उपमेयर’ कार्यक्रम नागरिकको आवाज प्रत्यक्ष सुन्ने र समाधान गर्ने प्रभावकारी माध्यम बनेको छ, जसले सरकार र जनताबीचको दूरी घटाएको छ। साथै महिला सशक्तीकरण, अधिकार सुनिश्चितता र समान सहभागितालाई व्यवहारमै लागू गर्ने काम भइरहेको उनले बताए।

प्रमुख प्रशासकीय अधिकृत सन्तोष खड्काले सेवा प्रवाहलाई नागरिकमैत्री, छिटोछरितो र प्रभावकारी बनाउन विभिन्न सुधारात्मक पहल गरिएको जानकारी दिए। कर्मचारी परिचालन, जिम्मेवारी निर्धारण र कार्यसम्पादन अनुगमनलाई व्यवस्थित बनाइएको तथा गुनासो व्यवस्थापन र सार्वजनिक सुनुवाइ प्रक्रियालाई थप सुदृढ गरिएको उनको भनाइ छ।

नगरपालिकाले अघिल्लो नगरसभाबाट पारित कार्यक्रम तथा योजनाहरू कार्यान्वयनकै चरणमा रहेको जनाएको छ। अधिकांश योजना स्वीकृत कार्ययोजना र समयसीमाअनुसार प्रगतिमा रहेका छन् भने केही योजना भौगोलिक विकटता, प्राविधिक जनशक्ति अभाव र सीमित स्रोतका कारण आंशिक रूपमा ढिला भएका छन्। समग्र कार्यान्वयन अवस्था सन्तोषजनक र नियन्त्रणमै रहेको जनाइएको छ।

वित्तीय अवस्थातर्फ चालू आर्थिक वर्ष २०८२/०८३ को सुरुदेखि हालसम्म चालूतर्फ ४७.७६ प्रतिशत र पूँजीगततर्फ ३०.१८ प्रतिशत खर्च भई कुल औसत ४२.०४ प्रतिशत बजेट कार्यान्वयन भएको नगरपालिकाले जनाएको छ। खर्च व्यवस्थापनलाई वित्तीय अनुशासनभित्र राख्दै प्राथमिकताका आधारमा कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिएको छ।

आन्तरिक राजस्व संकलनतर्फ हालसम्म २८ लाख ८५ हजार ९३३ रुपैयाँ संकलन भएको छ भने कर तथा गैरकर राजस्व परिचालन वृद्धि गर्ने प्रयास जारी रहेको छ। समग्रमा नगरपालिकाको वित्तीय अवस्था सन्तुलित, अनुशासित र नियन्त्रणमुखी रहेको निष्कर्ष प्रस्तुत गरिएको छ।

नगरसभाको खुला उद्घाटन सत्रमा दफावार छलफलका बाेल्दै वडा नम्बर ९ का अध्यक्ष सुवास कठायत, सदस्य दिलप्रसाद रोकाया र महिला सदस्य मनरुपा दर्जीले कार्यक्रम कार्यान्वयनमा प्रभावकारिता, पारदर्शिता र जनउत्तरदायित्व अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

तपाईको प्रतिक्रिया