डोल्पा ।राष्ट्रिय मानव अधिकार आयाेगले डाेल्पामा अपायक मतदान केन्द्र र कमजोर मतदाता शिक्षा प्रति चिन्ता ब्यक्त गरेकाे छ । फागुन २१ गते बिहीबार बिहान ७ बजेदेखि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा डाेल्पा पुगेकाे राष्ट्रिय मानव अधिकार आयोगको टोलीले उक्त चिन्ता ब्यक्त गरेकाे हाे ।राष्ट्रिय मानवअधिकार टाेलीले विभिन्न मतदान केन्द्रहरूको अनुगमन गर्दै माथिल्लो डोल्पामा मतदाता शिक्षा, भाषिक पहुँच र मतदान केन्द्रको उपयुक्तताबारे गम्भीर ध्यानाकर्षण गराएको छ।
आयोगका सह–प्रवक्ता श्याम बाबु काफ्ले र मानवअधिकार अधिकृत दीपेन्द्र बहादुर सिंह सहितको टोलीले जिल्लामा भौतिक तथा व्यवस्थापकीय तयारी सन्तोषजनक रहेको, मतदातामा उत्साह देखिएको तथा शान्तिपूर्ण निर्वाचनका लागि प्रशासन, सुरक्षा निकाय र सरोकारवाला सक्रिय रहेको निष्कर्ष निकालेको छ।
तर माथिल्लो डोल्पामा मतदाता शिक्षा प्रभावकारी हुन नसकेको आयोगको ठहर छ। स्थानीय नागरिकको मातृभाषा नेपालीभन्दा फरक रहेकाले नेपाली भाषामै दिइएको मतदाता शिक्षा बुझ्न कठिन भएको पाइएको छ। स्थानीय भाषा बुझ्ने शिक्षक वा सहजकर्तामार्फत मातृभाषामै मतदाता शिक्षा दिनु आवश्यक रहेको सुझाव आयोगले दिएको छ।
माथिल्लो क्षेत्रमा मतदाता शिक्षाका लागि प्रतिनिधि तोकिए पनि सम्बन्धित बस्ती तथा मतदान स्थलसम्म उनीहरू नपुगेको अवस्थाले दर्जनौँ नागरिक मतदानबाट वञ्चित हुन सक्ने सम्भावना औँल्याइएको छ।
अनुगमनका क्रममा केही मतदान केन्द्र बहुसंख्यक मतदाता बसोबास गर्ने स्थानभन्दा टाढा, अपायक र थोरै मतदाता भएको क्षेत्रमा राखिएको पाइएको छ। कतिपय मतदाताले मतदान गर्न झण्डै ६ घण्टासम्म पैदल दूरी पार गर्नुपर्ने बाध्यता रहेको आयोगको भनाइ छ।
विशेषगरी शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित तापारिचा मावि साईजलमा कायम मतदान केन्द्र आगामी निर्वाचनमा बहुसंख्यक मतदाता रहेको र्याची गाउँमा सारिए सबैका लागि सहज हुने सुझाव आयोगले दिएको छ।
टोलीले शे–फोक्सुण्डो–८ तापारिचा मावि साईजल, गोविन्द आवि रिग्मो, शे–फोक्सुण्डो–९ गौतमबुद्ध आवि पुग्मो, ठूलीभेरी नगरपालिका–९ गौरी आवि डाँगीवाडा, वडा नं. ७ आदर्श मावि जुफाल तथा त्रिपुरासुन्दरी नगरपालिका–२ रुमस्थित ज्योति आवि मतदान केन्द्रहरूको स्थलगत अनुगमन गरेको जनाएको छ।
त्रिपुरासुन्दरी–२ रुमस्थित ज्योति आवि मतदान केन्द्रमा मतदान अधिकृत प्रकाश गिरी सँग आयोग र सञ्चारकर्मीको टोलीले मतदान केन्द्र व्यवस्थापन, शान्तिपूर्ण, भयरहित, स्वच्छ र मर्यादित वातावरणमा मतदान सम्पन्न गराउने तयारी, साथै सर्वदलीय–सर्वपक्षीय छलफल तथा निर्णयबारे जानकारी लिएको थियो। मतदान अधिकृत गिरीले सर्वपक्षीय सहकार्यका आधारमा मतदान प्रक्रिया निष्पक्ष रूपमा सञ्चालन गरिने जानकारी गराएको बताइएको छ।

मानवअधिकारको दृष्टिकोणबाट मतदान केन्द्र अपाङ्गमैत्री भए–नभएको, कर्मचारी समावेशिता, मतदाताले स्वतन्त्र रूपमा मत हाल्न पाउने वातावरण, तथा मतदातामाथि दबाब वा प्रलोभनको अवस्था छ–छैन भन्ने विषयमा समेत सूक्ष्म निगरानी गरिएको आयोगले जनाएको छ।
समग्रमा जिल्लामा निर्वाचन तयारी सन्तोषजनक देखिए पनि विशेषगरी माथिल्लो डोल्पामा मतदाता शिक्षा, भाषिक समावेशिता र मतदान केन्द्रको पहुँचमा संरचनात्मक सुधार आवश्यक रहेको आयोगको निष्कर्ष छ।अनुगमन टाेलिमा इन्सेक प्रतिनिधि तथा एभिन्युज टेलिभिजनकर्मी विष्णुप्रसाद देवकोटा कान्तीपुरकर्मी रामचन्द्र न्याैपाने र अनलाइनखवर डाेल्पा प्रतिनिधि पुर्ण सार्कीकाे सहभागी थिए ।

डोल्पा न्यूज । २० फाल्गुन २०८२, बुधबार २२:१०