विष्णुप्रसाद देवकोटा
डोल्पा, असार १५
“जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नारासहित हिमाली जिल्ला डोल्पामा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ उत्साहपूर्वक मनाइएको छ।
जिल्ला कृषि विकास कार्यालय डोल्पा र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई डोल्पाको संयुक्त आयोजनामा ठूलीभेरी नगरपालिका–९ मोतीपुरस्थित धान खेतमा पञ्चेबाजागाजासहित महोत्सव सम्पन्न गरिएको हो।
महोत्सवको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाले खेतमै धानको बिरुवा रोपेर गरेका थिए।
कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख तेजेन्द्र बुढा, जिल्ला अदालत डोल्पाका श्रेस्तेदार विदुर कोइराला, जिल्ला कृषि विकास कार्यालयका प्रमुख शरद लामा, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका प्रमुख गोविन्दबहादुर मल्ल, बागवानी विकास केन्द्र जुफालका प्रमुख धनिराम क्वाँरलगायत विभिन्न सरकारी कार्यालयका प्रमुख, कृषि प्राविधिक, किसान तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाले डोल्पाजस्तो हिमाली जिल्लामा कृषि नै स्थानीय अर्थतन्त्रको मेरुदण्ड भएकाले परम्परागत खेतीलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन वृद्धि गर्नुपर्ने बताए।
उनले जलवायु परिवर्तनले खेती प्रणालीमा चुनौती थपिरहेको उल्लेख गर्दै स्थानीय स्रोत, सिँचाइ र आधुनिक प्रविधिको उपयोगमार्फत खाद्य आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्ने धारणा राखे।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख शरद लामाले डोल्पाको सीमित खेतीयोग्य जमिन, सिँचाइ अभाव र कठोर मौसमका कारण धान उत्पादन न्यून रहेको बताए। उनले उन्नत बीउ, समयमै प्राविधिक सेवा र जलवायुमैत्री खेती प्रणाली अपनाउन सके उत्पादनमा उल्लेखनीय वृद्धि गर्न सकिने विश्वास व्यक्त गरे।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई डोल्पाका प्रमुख गोविन्दबहादुर मल्लले कृषिलाई निर्वाहमुखीबाट व्यवसायिकतर्फ रूपान्तरण गर्नु अहिलेको आवश्यकता भएको बताए।
उनले आधुनिक कृषि प्रविधि, यान्त्रिकीकरण, गुणस्तरीय बीउ तथा उत्पादनमुखी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिए डोल्पाजस्तो हिमाली जिल्लाले पनि खाद्य सुरक्षामा उल्लेखनीय फड्को मार्न सक्ने बताए।
कार्यक्रममा जलवायु परिवर्तनका चुनौतीबीच आधुनिक तथा जलवायुमैत्री कृषि प्रविधिको प्रयोगमार्फत धान उत्पादन वृद्धि गरी खाद्य आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्नेमा विशेष जोड दिइएको थियो।
पछिल्लो प्रादेशिक कृषि तथ्याङ्कअनुसार डोल्पामा वार्षिक करिब ३ सय ५० मेट्रिक टन मात्र धान उत्पादन हुने गरेको छ। यही कारण कर्णाली प्रदेशमै सबैभन्दा कम धान उत्पादन गर्ने जिल्लाका रूपमा डोल्पा परिचित छ।

राष्ट्रिय कृषि गणनाअनुसार जिल्लामा बर्खे धान खेती गर्ने कृषक परिवारको संख्या ३ सय ९७ मात्र रहेको छ। उत्पादन न्यून हुँदा जिल्लामा उत्पादित धानले स्थानीय जनसंख्याको आवश्यकता वर्षको तीन महिना पनि धान्न सक्दैन। बाँकी समय बाहिरी जिल्लाबाट खाद्यान्न आयात गर्नुपर्ने बाध्यता रहेको छ।
यस अवसरमा मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार अन्तर्गत तीन जना कृषक सम्मानित भएका छन्। जगदुल्ला गाउँपालिका–३ का सूर्यबहादुर थापाले स्याउ तथा नर्सरी खेतीतर्फ प्रथम पुरस्कारसहित ३० हजार रुपैयाँ, त्रिपुरासुन्दरी नगरपालिका–४ रंगका केसर खेती व्यवसायी सुकराज बुढाले द्वितीय पुरस्कारस्वरूप २५ हजार रुपैयाँ तथा स्याउ र ओखर खेती गर्दै आएकी त्रिपुरासुन्दरी–४ कै निर्मला बुढाले तृतीय पुरस्कारस्वरूप २० हजार रुपैयाँ नगद, प्रमाणपत्र र दोसल्लासहित सम्मान प्राप्त गरेका छन्।
कृषि विज्ञहरूका अनुसार सिँचाइ विस्तार, उन्नत बीउ, जलवायुमैत्री प्रविधिको प्रयोग र उत्पादनमुखी कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके हिमाली जिल्ला डोल्पामा पनि धान उत्पादन वृद्धि गर्दै खाद्य सुरक्षा सुदृढ बनाउन सकिने अपेक्षा गरिएको छ।कार्यक्रममा ठुलिभेरि नगरपालिका -७ का अध्यक्ष धुव्रविक्रम शाही लगायतका जनप्रतिनिधि कर्मचारी र कृषकहरुकाे सहभागीता रहेकाे थियाे ।

डोल्पा न्यूज । १५ असार २०८३, सोमबार १५:४४