विष्णुप्रसाद देवकोटा
भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई बर्दिया प्रहरीले उद्धार गरेको छ। मंगलबार राति गुलरिया नगरपालिका–७ स्थित भन्सार रोडबाट उनीहरूलाई उद्धार गरिएको हो।
प्रारम्भमा डोल्पा घर भनिएका ती बालबालिका रोल्पा र दाङका रहेको खुलेको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये रोल्पा उपरकोटका १५ वर्षीया बालिका, रोल्पा खाराकी १३ वर्षीया बालिका र दाङ घोराही उपमहानगरपालिका–चौघेरा पुलवारीका ८ वर्षीय बालक रहेका छन्। उनीहरूका परिवार प्रहरीको सम्पर्कमा आइसकेका छन्।
घटनामा संलग्न रहेको आरोपमा भारत, उत्तर प्रदेश बहराइच जिल्लाका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेहरूमा ७४ वर्षीया लेडी महत, उनका ३४ वर्षीय छोरा हिरालाल महत, २६ वर्षीया बुहारी ज्ञानकुमारी महत रहेका छन्। त्यसैगरी अयोध्या गोलाई गाउँकी ३५ वर्षीया सुनिता महत, बहराइचका २४ वर्षीय भुल्लु महत र १९ वर्षीय मुकेश महतलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक देवेन्द्रकुमार मल्लले जानकारी दिए। उनीहरूसँग एक काखे बालक समेत रहेको बताइएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार नियन्त्रणमा लिएका व्यक्तिहरू दाङको घोराही बजार क्षेत्रमा गमला बनाउने काम गर्दै आएको खुलेको छ। यद्यपि नेपाली बालबालिकालाई भारत कुन उद्देश्यले लैजान खोजिएको थियो भन्नेबारे विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले डोल्पान्युजलाई जानकारी दिएका छन्।
बर्दियाबाट उद्धार गरिएका बालबालिका डोल्पाका होइनन्, रोल्पाका रहेको पुष्टि
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २९ माघ २०८२, बिहीबार ०८:५०