डोल्पा । त्रिपुरासुन्दरी नगरपालिकामा बालविवाह रोकथाम तथा न्यूनीकरणका लागि सरोकारवालाहरूले १२ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन्।
नगरप्रमुख जनचन्द्र रोकायाको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत राजु कुँवरको प्रमुख आतिथ्यमा आयोजित गोष्ठीमा वडा नं. १ र २ का जनप्रतिनिधि, दुईवटा माध्यमिक विद्यालयका बालक्लब तथा किशोरी क्लबका प्रतिनिधि, शिक्षक, धामी–झाँक्री, कार्यपालिका सदस्य, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र मानवअधिकार रक्षक सञ्जालका प्रतिनिधिसहित ३६ जनाको सहभागिता रहेको थियो।
गोष्ठीमा बालविवाहका कारण, यसले पार्ने सामाजिक तथा स्वास्थ्यसम्बन्धी असर र रोकथामका उपायबारे छलफल गरिएको थियो। गोष्ठीको सहजीकरण मानवअधिकार रक्षक सञ्जालका सदस्य तथा गरिब तथा दलित उत्थान सेवा समिति डोल्पाका कार्यकारी निर्देशक अधिवक्ता रणबहादुर कार्की र प्रमुख प्रशासकीय अधिकृत राजु कुँवरले गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले बालविवाह रोकथामका लागि १२ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए।
सहभागीहरूको तर्फबाट वडा नं. २ का कार्यवाहक अध्यक्ष रणबहादुर बुढाले बालविवाह रोकथामका लागि वडास्तरमा सबै पक्षको समन्वय र सहकार्यमा प्रभावकारी अभियान सञ्चालन गरिने बताए।
नगरप्रमुख जनचन्द्र रोकायाले पछिल्लो समय नगरपालिकाले बालविवाह रोकथामलाई प्राथमिकताका साथ अघि बढाएको बताउँदै यस अभियानमा सहयोग, समन्वय र सहकार्य गर्ने सामाजिक विकास कार्यालय डोल्पा तथा बालविवाहविरुद्ध साझा अभियान सञ्जाल डोल्पालाई धन्यवाद दिए ।
डोल्पामा बालविवाह रोकथामका लागि १२ बुँदे प्रतिबद्धता
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ११ श्रावण २०८३, सोमबार २०:३८