ताजा समाचार

जगदुल्लाको नयाँ पहिचान बन्दै थोप्लाग्ना भ्यु टावर

विष्णुप्रसाद देवकोटा/ डोल्पा। हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिका–४ थोप्लाग्नामा निर्माण गरिएको पर्यटकीय भ्यु टावर अहिले आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्न थालेको छ ।

जुम्ला–डोल्पा सीमाना नजिक अवस्थित उक्त भ्यु टावरले प्राकृतिक सौन्दर्यसँगै जगदुल्लाको पर्यटन सम्भावनालाई नयाँ उचाइ दिएको स्थानीयवासी बताउँछन् ।
थोप्लाग्ना भ्यु टावर निर्माणपछि त्यहाँ पुग्ने पर्यटकको संख्या बढ्दै गएको छ ।

विशेषगरी कर्णाली राजमार्ग र भेरी करिडोर हुँदै यात्रा गर्ने पर्यटकका लागि यो स्थल महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।
जगदुल्ला गाउँपालिकाले करिब ६० लाख रुपैयाँको लागतमा निर्माण गरेको भ्यु टावरबाट जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिका क्षेत्रका मनोरम हिमाली दृश्य अवलोकन गर्न सकिन्छ ।

हरियाली पहाड, हिमशृंखला र प्राकृतिक भू–दृश्यको संगमले थोप्लाग्नालाई पर्यटकको रोजाइमा पार्दै लगेको छ ।
पछिल्लो समय भ्यु टावर युवायुवतीदेखि वृद्धवृद्धासम्मका लागि मनोरञ्जन र घुमफिरको केन्द्र बनेको छ । विशेषगरी टिकटक तथा सामाजिक सञ्जालका भिडियो निर्माण गर्नेहरूको भीड समेत यहाँ बढ्न थालेको छ ।

स्थानीय रामबहादुर शाहीले जगदुल्ला पुग्ने अधिकांश पर्यटकले एकपटक थोप्लाग्ना भ्यु टावर नपुगी यात्रा अधुरो महसुस गर्ने गरेकाे बताए ।
प्राकृतिक रूपमा अत्यन्त सुन्दर भू–भागमा निर्माण गरिएको भ्यु टावरले जगदुल्लाको सौन्दर्यमा थप निखार ल्याएको भए पनि आधारभूत पूर्वाधारको अभाव भने चुनौती बनेको छ । विशेषगरी खानेपानीको सहज व्यवस्था नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको गुनासो गर्ने गरेका छन् ।
भ्यु टावर पुगेका पर्यटकहरूले स्थानीय सरकारले पर्यटन प्रवर्द्धनका लागि आकर्षक संरचना निर्माण गरेको प्रशंसा गर्दै खानेपानी, विश्रामस्थल र सरसफाइ व्यवस्थापनलाई समेत प्राथमिकता दिए थोप्लाग्ना अझ उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने भ्युटावरमा पुगेका संचारकर्मी लेख बुढाले बताए।

पर्यटन प्रवर्द्धनमार्फत स्थानीय आर्थिक गतिविधि बढाउने र समग्र विकासको नयाँ मोडेल स्थापित गर्ने लक्ष्यसहित भ्यु टावर निर्माण गरिएको गाउँपालिकाका केशबराज जैसीले बताए ।

हिमाली भूगोल, प्राकृतिक सौन्दर्य र आधुनिक संरचनाको संयोजनले थोप्लाग्ना अब डोल्पाको उदाउँदो पर्यटन केन्द्रका रूपमा परिचित बन्न थालेको छ ।

तपाईको प्रतिक्रिया