ताजा समाचार

सम्मानित कलम र पारदर्शी वडा : प्रशासनिक खर्चमा पनि चाहिन्छ जवाफदेहिता

✍️ सम्पादकीय

सम्मानित कलम र पारदर्शी वडा : प्रशासनिक खर्चमा पनि चाहिन्छ जवाफदेहिता

पत्रकारिता आफैंमा सम्मान खोज्ने पेशा होइन। पत्रकारको कलमले समाजका राम्रा कामको प्रशंसा गर्छ, कमजोरी देखाउँछ, प्रश्न गर्छ र आवश्यक पर्दा सत्ताको आँखामा आँखा जुधाएर सत्य बोल्छ। त्यसैले पत्रकारिताको वास्तविक सम्मान पुरस्कार वा सम्मानपत्रमा होइन, उसले समाजमा स्थापित गरेको विश्वास र उठाएका प्रश्नको प्रभावमा हुन्छ।
तर कहिलेकाहीँ प्राप्त हुने सम्मानले पत्रकारको यात्रालाई थप अर्थपूर्ण बनाइदिन्छ। ठुलीभेरी नगरपालिका–७, जुफाल वडा कार्यालयले डोल्पाका वरिष्ठ पत्रकार विष्णुप्रसाद देवकोटालाई गरेको सम्मान पनि यस्तै सकारात्मक सन्देश बोकेको घटना हो।
तीन दशकभन्दा बढी समयदेखि डोल्पाको पत्रकारितामा सक्रिय देवकोटाले जिल्लाको विकास, सुशासन, नागरिक अधिकार र सामाजिक रूपान्तरणका विषयमा निरन्तर कलम चलाउँदै आएका छन्। सँगसँगै अनियमितता, बेथिति र विसंगतिमाथि प्रश्न उठाउने पत्रकारितालाई आफ्नो कर्मको महत्वपूर्ण हिस्सा बनाएका छन्। यही यात्राका क्रममा उनी राष्ट्रियस्तरका भूषण पत्रकारिता पुरस्कार तथा द्वान्द पीडित  पत्रकारिता पुरस्कारबाट समेत सम्मानित भइसकेका छन्।
जुफाल वडा कार्यालयले गरेको सम्मानलाई डोल्पान्युजले व्यक्तिगत उपलब्धिका रूपमा मात्र हेरेको छैन। यसलाई स्थानीय तहले आलोचनात्मक पत्रकारिताको भूमिकालाई स्वीकार गरेको एउटा अनुकरणीय अभ्यासका रूपमा लिएको छ।
हामीले एउटा कुरा सधैं सम्झिनुपर्छ—पत्रकारले प्रश्न गर्नु उसको धर्म हो। स्थानीय सरकारको कामको प्रशंसा गर्नु पनि पत्रकारिताकै हिस्सा हो, कमजोरी देखाउनु पनि। सडक राम्रो बनेको छ भने राम्रो भन्नुपर्छ, बजेट सही ठाउँमा खर्च भएको छ भने त्यसको प्रशंसा गर्नुपर्छ। तर सार्वजनिक स्रोतको दुरुपयोग भएको छ, नागरिकले सेवा पाएका छैनन् वा निर्णय प्रक्रियामाथि प्रश्न उठ्ने अवस्था छ भने पत्रकार चुप बस्न सक्दैन।
पत्रकारिताको मूल्य नै त्यहीँबाट सुरु हुन्छ।
दुर्भाग्यवश, हाम्रो समाजमा अझै पनि आफूअनुकूल समाचारलाई पत्रकारिता र आफूविरुद्धको समाचारलाई आलोचना वा पूर्वाग्रहका रूपमा बुझ्ने प्रवृत्ति छ। पत्रकारले प्रश्न गर्दा सम्बन्ध बिग्रिएको ठानिन्छ। बेथिति औंल्याउँदा विरोधी भएको आरोप लाग्छ। तर पत्रकारलाई प्रश्न गर्नबाट रोक्ने होइन, प्रश्नको उत्तर दिने संस्कार विकास गर्नु लोकतान्त्रिक शासनको सुन्दर पक्ष हो।
यसर्थ जुफाल वडा कार्यालयको सम्मानलाई एउटा फरक कोणबाट पनि हेर्न आवश्यक छ। आफ्नो आलोचना गर्ने पत्रकारलाई समेत सम्मान गर्न सक्नु परिपक्व लोकतान्त्रिक संस्कारको परिचय हो।
स्थानीय तह नागरिकको सबैभन्दा नजिकको सरकार हो। नागरिकले सरकारलाई प्रत्यक्ष अनुभूति गर्ने ठाउँ नै वडा र नगरपालिका हुन्। त्यहाँ हुने कामकारबाहीबारे प्रश्न गर्ने पत्रकारलाई सम्मान गर्न सक्ने स्थानीय सरकार आफैं पनि जवाफदेहिताको संस्कारतर्फ अघि बढिरहेको हुन्छ।
तर यही सन्दर्भमा स्थानीय तहका वडा कार्यालयहरूको प्रशासनिक खर्च र सूचना प्रवाह पनि बहसको विषय बन्नुपर्छ।
वडा कार्यालयहरूमा हरेक वर्ष प्रशासनिक खर्चका नाममा सामान्यतः लाखौं रुपैयाँ बजेट विनियोजन हुने गरेको पाइन्छ। यस्तो बजेटबाट आवश्यक सूचना प्रकाशन तथा प्रसारण, जनहितमा जारी सन्देश, अत्यावश्यक स्टेशनरी तथा कार्यालय सामग्रीलगायतका काम गर्न सकिन्छ। तर व्यवहारमा प्रशासनिक खर्चको ठूलो हिस्सा केमा र कसरी खर्च हुन्छ भन्ने विषयमा नागरिकले पर्याप्त जानकारी पाउन नसक्ने अवस्था पनि देखिन्छ।
हाजिरी फाइल, रजिस्टर, रसिद तथा अन्य स्टेशनरी सामग्री वर्षमा एकपटक खरिद गर्दा लामो समयसम्म पुग्न सक्छन्। विद्युत् र इन्टरनेटजस्ता नियमित खर्च पनि अत्यधिक ठूलो हुँदैनन्। यस्तो अवस्थामा विनियोजित प्रशासनिक बजेटको बाँकी हिस्सा कहाँ, कुन शीर्षकमा र कुन प्रयोजनका लागि खर्च भयो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।
यहाँ प्रश्न खर्च गर्न नहुने भन्ने होइन। प्रश्न खर्चको औचित्य, पारदर्शिता र सार्वजनिक जानकारीको हो।
विडम्बना के छ भने कतिपय वडा कार्यालय सूचना प्रकाशन तथा प्रसारणमा भने निकै मितव्ययी देखिन्छन्। सार्वजनिक सूचना, जनहितमा जारी सन्देश वा स्थानीय नागरिकलाई आवश्यक जानकारी प्रवाह गर्न खर्च गर्नुपर्ने विषयमा अनेक हिसाबले सोच्नुपर्ने अवस्था देखिन्छ; तर अन्य कार्यक्रम तथा आतिथ्य सत्कारमा भने त्यही संकोच देखिँदैन।
यसलाई व्यंग्यका रूपमा नभई सुधारको सुझावका रूपमा बुझिनुपर्छ—जनताको जानकारीमा खर्च हुने एक रुपैयाँ पनि खर्च होइन, लोकतन्त्रमा गरिएको लगानी हो।
कतिपय सञ्चारकर्मीले जनहितमा जारी सूचना वा सन्देश प्रकाशन–प्रसारण गरेबापतको भुक्तानीसमेत समयमै नपाएको गुनासो गर्ने गरेका छन्। यदि यस्तो अवस्था सत्य हो भने सम्बन्धित निकायले यसलाई सामान्य विषयका रूपमा लिनु हुँदैन। सूचना माग्ने नागरिकको अधिकार हो भने सूचना प्रवाह गर्ने सञ्चारमाध्यमसँग गरिएको व्यवहार पनि संस्थागत मर्यादा र पारदर्शिताको विषय हो।
अर्कोतर्फ, कतिपय वडामा कार्यकालको लामो समय बितिसक्दा पनि वडा बजेट, योजना छनोट, खर्च विवरण र कार्यसम्पादनबारे नागरिकसँग पर्याप्त खुला बहस नहुनु अर्को गम्भीर प्रश्न हो।
वडाको बजेट कसरी बन्यो? कुन योजनामा कति रकम छुट्याइयो? कति खर्च भयो? कुन योजनाको काम सम्पन्न भयो? कुन शीर्षकमा रकम खर्च हुन सकेन? यी प्रश्नको उत्तर नागरिकले आफ्नै वडा कार्यालयबाट सहज रूपमा पाउन सक्नुपर्छ।
यस सन्दर्भमा ठुलीभेरी नगरपालिका–७, जुफाल र त्रिपुरासुन्दरी नगरपालिका–३, सुउ वडा कार्यालयले प्रत्येक वर्ष आम्दानी तथा खर्चको सार्वजनिक सुनुवाइ र खुला बहस गर्दै आएको अभ्यास सकारात्मक उदाहरणका रूपमा लिन सकिन्छ। प्रशासनिक खर्चबाट सूचना प्रकाशन तथा प्रसारण गर्नुका साथै अशक्त, दलित तथा ज्येष्ठ नागरिकलाई राहत र सहयोगसमेत उपलब्ध गराउने अभ्यासले बजेटलाई नागरिकसँग जोड्ने बाटो देखाएको छ।
तर असार मसान्त नजिकिँदा सार्वजनिक खर्चको व्यवस्थापन चुनौतीपूर्ण बन्ने गरेको विषय पनि उत्तिकै गम्भीर छ। वर्षभरि खर्चको स्पष्ट योजना र नियमित सार्वजनिक विवरणभन्दा आर्थिक वर्षको अन्त्यतिर बिल मिलाउने चटारो देखिनु स्वस्थ वित्तीय अनुशासनको संकेत होइन।
महालेखा परीक्षकका प्रतिवेदनहरूले समेत स्थानीय तहमा प्रशासनिक तथा अन्य शीर्षकमा हुने खर्च, कागजी प्रक्रिया, बेरुजु र वित्तीय अनुशासनका विषयमा पटक–पटक प्रश्न उठाउँदै आएका छन्। यसको मूल समस्या कतिपय अवस्थामा खर्चप्रतिको पर्याप्त निगरानी, सार्वजनिक परीक्षण र सरोकारवालाको चासो कमजोर हुनु पनि हो।
त्यसैले प्रशासनिक खर्चलाई ‘सानो बजेट’ भनेर बेवास्ता गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ। सानो शीर्षकमा भएको अपारदर्शिता पनि सार्वजनिक विश्वासका लागि ठूलो प्रश्न बन्न सक्छ। नागरिकको करबाट आएको रकम एक रुपैयाँ होस् वा करोड—त्यसको हिसाब नागरिकले खोज्न पाउने अधिकार हो।
हामी स्थानीय सरकारलाई कमजोर बनाउन होइन, अझ बलियो, पारदर्शी र जवाफदेही बनाउन प्रश्न गरिरहेका छौं।
आलोचना सरकारविरोधी हुनु होइन। प्रश्न गर्नु विकासविरोधी हुनु होइन। खर्चको हिसाब माग्नु जनप्रतिनिधिको अपमान होइन। बरु यी सबै लोकतान्त्रिक उत्तरदायित्वका आधार हुन्।
डोल्पामा आलोचना गर्नेहरू धेरै छन्। आलोचना सुन्ने, प्रश्नको उत्तर दिने र त्यसबाट सुधार गर्ने संस्कार भने अझै बलियो बन्न बाँकी छ। जुफाल वडा कार्यालयले गरेको सम्मान त्यही संस्कार निर्माणको एउटा सानो तर महत्वपूर्ण पाइला हो।
हामी अपेक्षा गर्छौं—यो सम्मान एउटा कार्यक्रममै सीमित नहोस्। डोल्पाका अन्य स्थानीय तहले पनि आफ्नो क्षेत्रमा योगदान पुर्‍याउने पत्रकार, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता, कलाकार र नागरिकलाई योगदानका आधारमा सम्मान गर्ने परम्परा बसालून्। अझ महत्वपूर्ण कुरा, आलोचना गर्ने आवाजलाई सम्मान गर्ने संस्कार सबै तहमा विकास होस्।
डोल्पान्युजका प्रकाशक तथा सम्पादक विष्णुप्रसाद देवकोटालाई गरिएको सम्मानप्रति जुफाल वडा कार्यालयलाई हार्दिक आभार।
यो सम्मानले डोल्पान्युजको कलमलाई रोक्ने होइन, अझ जिम्मेवार बनाउनेछ।
सत्ताको पक्षमा होइन, नागरिकको पक्षमा उभिनेछौं।
र बेथिति जहाँ देखिन्छ, त्यहाँ प्रश्न उठाउने हाम्रो धर्मलाई निरन्तरता दिनेछौं।
किनकि सम्मानित कलमको सबैभन्दा ठूलो दायित्व अब अझ सत्य, निर्भीक र जिम्मेवार भएर लेख्नु हो।

तपाईको प्रतिक्रिया