विष्णुप्रसाद देवकोटा
डोल्पाको फोक्सुण्डो ताल किनारमा परम्परागत “स्यार्पो नाच” संरक्षण र पुस्तान्तरणका लागि विशेष अभियान सञ्चालन गरिएको छ। तीन हप्ते तालिममार्फत पुरानो पुस्ताको सीप नयाँ पुस्तासम्म पुर्याउने प्रयास भइरहेको छ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण फोक्सुण्डो तालको किनारमा अहिले संस्कृति जोगाउने अभियान चलिरहेको हाे। यहाँका स्थानीय समुदाय मिलेर लोप हुन लागेको “स्यार्बाे नाच” लाई नयाँ पुस्तामा हस्तान्तरण गरिरहेका छन्।
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा सञ्चालन भइरहेको तीन हप्ते विशेष प्रशिक्षण कार्यक्रमले परम्परागत स्यार्बाे नाचलाई पुनर्जीवन दिने प्रयास गरिरहेको छ। वडा कार्यालयको पहल र समुदायको सक्रिय सहभागितामा सञ्चालन भएको यो अभियानले पुरानो पुस्ताको ज्ञानलाई नयाँ पुस्तामा सार्ने काम गरिरहेको हाे।
शे फाेक्सुण्डाे गाउँपालिका -८का वडा अध्यक्ष निमा लामा भन्छन “परम्परागत रूपमा चलिआएको संस्कृति लोप नहोस् भन्ने उद्देश्यले संरक्षणसँगै पुस्तान्तरणका लागि यस्तो पहल गरिएको हो।”
पर्यटकीय दृष्टिले महत्त्वपूर्ण फोक्सुण्डो तालमा सञ्चालन भइरहेको यो कार्यक्रमले संस्कृति र पर्यटनलाई पनि जोड्ने प्रयास गरेको छ। यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि स्यार्बाे नाच नयाँ आकर्षण बन्ने अपेक्षा गरिएको छ।प्रशिक्षक चाइना बैजी भन्छन “यो नाच विशेष पूजा–पाठ र महत्वपूर्ण अवसरहरूमा प्रस्तुत गरिन्छ। अहिले यसलाई राम्रोसँग जान्ने एक–दुई जनाबाहेक छैनन्, त्यसैले नयाँ पुस्तालाई सिकाइरहेका छौं ”बैजिले भने ।
दैनिक तीन घण्टा प्रशिक्षण दिइँदै आएको यस कार्यक्रममा स्थानीय युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ। यसले युवापुस्तामा आफ्नै मौलिक संस्कृतिप्रति जिम्मेवारी बढाउँदै लगेको छ।झण्डै एक महिना सम्म दिइने स्यार्बाे नाच प्रशिक्षणमा सहभागी याङजुङ बुढाले यो नाच अहिले नसिके भविष्यमा हराउन सक्ने भएकाले आगामी पुस्ताका लागि जोगाउन पनि आफुले तालिम लिइरहेकी बताइन्।
प्रशिक्षणको अन्त्यमा पुराना र नयाँ पुस्ताबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गराउने योजना पनि रहेको छ, जसले सिकाइलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।
“संरक्षणसँगै पुस्तान्तरण” भन्ने सन्देश बोकेको यो अभियानले केवल संस्कृति जोगाउने मात्र होइन, यसलाई पर्यटन र सम्भावित आर्थिक अवसरसँग पनि जोड्ने प्रयास गरेको छ।

डोल्पा न्यूज । ११ बैशाख २०८३, शुक्रबार ११:३३