विष्णुप्रसाद देवकोटा
डोल्पाबाट फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित सांसद धनबहादुर बुढाले प्राइम टेलिभिजनविरुद्ध गालीबेइज्जती मुद्दा दायर गरेका छन्।
मंगलवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।०८२ चैत १ गते आइतवार प्रसारण भएको प्राइम टेलिभिजनको एक विशेष कार्यक्रमको प्रोमोमा बुढाले ठेक्कापट्टाको विषयमा एक महिलालाई एक करोडभन्दा बढी रकम भुक्तानी नगरी ठगी गरेको आरोपसहित विभिन्न गालीबेइज्जती हुने खालका सामग्री प्रसारण गरिएको थियो।
उक्त सामग्रीमार्फत आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले अफवाह फैलाइएको भन्दै सांसद बुढाले न्यायका लागि अदालत पुगेको बताएका छन्।
उनले डोल्पा न्यूजसँग टेलिफोनमार्फत कुरा गर्दै उक्त आरोप लगाउने महिलालाई आफूले कहिल्यै नदेखेको र नचिनेको दाबी गरे।अदालतमा ०८२-०८४/१०३० नम्वरमा सांसद बुढाले मुद्दा दर्ता गरेका छन ।
“मैले अहिलेसम्म कसैलाई ठगेको छैन, म कसरी अबला नारी ठग्न सक्छु,” उनले भने।
काठमाडौं जिल्ला अदालतले ०८३ बैशाख १४ गते उपस्थित हुन प्राइम टेलिभिजन ब्यवस्थापनका नाममा म्याद तामेली गरिसकेको छ। मुद्दाको थप प्रक्रिया अदालतमा अघि बढ्ने जनाइएको छ।

डोल्पा न्यूज । ३ चैत्र २०८२, मंगलवार १६:५०