विष्णुप्रसाद देवकोटा
डोल्पा । ठुलीभेरी नगरपालिकामा पर्ने जिल्ला अस्पतालमा सञ्चालित निःशुल्क आँखा शिविरमा ४० जना मोतिबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको छ । त्यस्तै, मासु तथा बोसो पलाएका ४ जना र अन्य आँखासम्बन्धी समस्याका १ जनाको समेत शल्यक्रिया गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी तथा सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग, स्वास्थ्य सेवा कार्यालय डोल्पा र नेपाल रेडक्रस सोसाइटी डोल्पाको समन्वय तथा सहकार्यमा ठुलीभेरी नगरपालिकाले भदौ १८ गतेदेखि २५ गतेसम्म नगरपालिकाका सबै वडामा मोतिबिन्दु छनोट शिविर सञ्चालन गरेको थियो ।
छनोट शिविरमा ४ सय ९१ जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा मोतिबिन्दुको शल्यक्रियाका लागि ४२ जना तथा मासु र बोसो पलाएको आँखाको शल्यक्रियाका लागि ९ जना गरी ५१ जनालाई जिल्ला अस्पताल दुनैमा शल्यक्रियाका लागि रेफर गरिएको थियो ।
भदौ २७ गते जिल्ला अस्पताल दुनैमा सञ्चालन गरिएको छनोट तथा शल्यक्रिया कार्यक्रममा रेफर गरिएका बिरामीमध्ये ४० जनाको मोतिबिन्दु, ४ जनाको मासु तथा बोसो पलाएको र १ जनाको अन्य आँखासम्बन्धी समस्याको शल्यक्रिया गरिएको हो ।
शिविरका क्रममा करिब १ सय ७० जनालाई नजिकको दृष्टि सुधारका लागि निःशुल्क चस्मासमेत वितरण गरिएको छ ।
प्रतिकूल मौसमका बाबजुद विभिन्न समस्या र चुनौतीको सामना गर्दै नगरपालिकाका सबै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको ठुलीभेरी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक राजनकुमार डाँगीले बताए।
भदौ २८ गते आयोजित औपचारिक समापन कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डा. सिजन रावलले सामाजिक सेवामूलक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरेकोमा सहयोगी निकायप्रति आभार व्यक्त गरे । उनले यस्ता आँखा उपचार सेवा अपर डोल्पाका स्थानीय तहमा समेत विस्तार गर्न नेपाल रेडक्रस सोसाइटी तथा सुर्खेत आँखा अस्पताललाई आग्रह गरे ।
ठुलीभेरी नगरपालिकाका नगर प्रमुख स्वर्णकुमार बुढाले आफ्नै जिल्लामा निःशुल्क आँखाको शल्यक्रिया सेवा पाएपछि ज्येष्ठ नागरिकसहित स्थानीयवासीलाई उपचारका लागि बाहिर जानुपर्ने, ठूलो रकम खर्च गर्नुपर्ने र समय तथा विभिन्न झन्झट बेहोर्नुपर्ने अवस्थाबाट राहत मिलेको बताए ।
यस्ता सामाजिक सेवामूलक कार्यक्रम आयोजना तथा सहकार्य गर्न पाउँदा नगरपालिका खुसी रहेको उल्लेख गर्दै नगर प्रमुख बुढाले शिविर सफल बनाउन सहयोग गर्ने सबै निकाय, स्वास्थ्यकर्मी तथा प्राविधिक टोलीप्रति धन्यवाद व्यक्त गरे ।

डोल्पा न्यूज । २८ भाद्र २०८३, आईतवार १७:२८