विष्णुप्रसाद देवकोटा
डोल्पा शे फोक्सुण्डो गाउँपालिका वडा नम्बर ६ स्थित वडा कार्यालयमा रहेको मतदान केन्द्रमा खटिएका दुई सहायक कर्मचारी र ३ निर्वाचन प्रहरी गरेर ५ जना लेक लागेर एक्कासी बिरामी परेपछि उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ पठाइएको छ।
बिरामी पर्नेहरूमा सहायक कर्मचारी गोर्खबहादुर बुढा र सहयाेगी धनबहादुर महतारा तथा निर्वाचन सुरक्षामा खटिएका प्रहरी कृष्ण झाँक्री, आत्मराम बोहोरा र इन्द्रमान बोहोरा रहेका छन्। उनीहरूलाई अचानक ज्वरो आउने, टाउको दुख्ने तथा श्वासप्रश्वासमा समस्या देखिएपछि तत्काल उद्धार प्रक्रिया अघि बढाइएको हो।
दुर्गम हिमाली क्षेत्र भएकाले स्थलगत उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न लागिएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका सहायक निर्वाचन अधिकृत विदुर प्रसाद काेइरालाले जानकारी दिए ।
घटनापछि उक्त मतदान केन्द्रमा आवश्यक वैकल्पिक व्यवस्था मिलाउने तयारीसमेत गरिएको जनाइएको छ।

डोल्पा न्यूज । २० फाल्गुन २०८२, बुधबार १२:०९