विष्णुप्रसाद देवकोटा
डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित प्रसिद्ध बाला त्रिपुरासुन्दरी मन्दिरको भेटी रकम चोरी प्रकरणमा मन्दिरकै चार पुजारी पक्राउ परेका छन । ५५ हजार ८० रुपैयाँ चोरी भएको घटनामा प्रहरीले थप चार जनालाई पक्राउ गरेकाे हाे।
जिल्ला अदालत डोल्पाबाट जारी पक्राउ पुर्जीका आधारमा प्रहरीले मन्दिरका पूजारीसहित चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–१ त्रिपुराकोटका २३ वर्षीय प्रख्यात उपाध्याय, ४४ वर्षीय रामप्रसाद उपाध्याय, २९ वर्षीय आशिष उपाध्याय र २७ वर्षीय झलक उपाध्याय छन्।
उनीहरूलाई असोज ८ गते त्रिपुराकोट स्थित मन्दिरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पदम रावलले जानकारी दिए।
प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
यसअघि असोज ६ गते सोही वडाका ३७ वर्षीय जयानन्द उपाध्याय पक्राउ परेका थिए। उनलाई जिल्ला अदालत डोल्पामा पेस गरी सात दिनको हिरासत म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यससँगै मन्दिरको भेटी चोरी प्रकरणमा पक्राउ पर्नेको संख्या पाँच पुगेको छ।
घटनाको अनुसन्धान चलिरहेकै बेला हराएको भनिएको रकम फरक फरक ठाउँबाट दुईपटक भेटिएपछि प्रकरण थप रहस्यमय बनेको हाे।
असोज ३ गते शनिबार मन्दिरको मुख्य पूजास्थलमा राखिएको ५५ हजार ८० रुपैयाँ नगद चोरी भएको घटना सार्वजनिक भएको थियो।
त्यसको केही दिनपछि सोमबार साँझ मन्दिरको पश्चिमतर्फ रहेको टिमुरको रूखमा ५५ हजार ८० रुपैयाँ फेला परेको थियो। खोजतलासका क्रममा रकम भेटिएको भन्दै श्री बाला त्रिपुरासुन्दरी शुशंकादरी योगिनी उद्यान पीठले विज्ञप्तिमार्फत जानकारी गराएको थियो।
फेला परेको रकम मन्दिर सुरक्षा पोस्टका इन्चार्ज प्रहरी हबलदार इन्द्रबहादुर जिसीले पुजारी रामप्रसाद उपाध्यायलाई हस्तान्तरण गरेका थिए।
तर, त्यसको २४ घण्टा नवित्दै भाेलि पल्ट मंगलबार दिउँसो फेरि मन्दिर परिसरमै करिब ५४ हजार रुपैयाँ फेला परेको भन्दै पुजारी स्वयमले खबर सार्वजनिक गरेका थिए ।भेटि रकम हराएको खवर पुजारीले नै हल्ली खल्ली गर्नु रकम भेटाएर पुजारीले बुझिसकेपछि पनि पुन रकम भेटाइनुले चाेरी घटनालाई थप रहस्यमय बनाएकाे थियाे ।
दोस्रो पटक फेला परेको रकम भने प्रहरीले बरामद गरी मुचुल्का उठाएको थियाे ।एउटै घटनामा हराएको भनिएको रकम दुई फरक स्थानबाट भेटिनु र घटनाको अनुसन्धानका क्रममा पाँच जना पक्राउ पर्नुले प्रकरणलाई थप पेचिलाे बनाएकाे छ ।
डाेल्पा बाला त्रिपुरासुन्दरी भगवती मन्दिर भेटी रकम चाेरी प्रकरण :थप चार पुजारी पक्राउ
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ८ आश्विन २०८३, बिहीबार २३:४८