विष्णुप्रसाद देवकोटा
डोल्पा । भेरी करिडोरको जाजरकोट–रुकुम पश्चिम–डोल्पा सडक खण्डअन्तर्गत पर्ने तासुगाड खोला यतिबेला यात्रुका लागि जोखिमको पर्याय बनेको छ। पुल नहुँदा खोला तर्ने क्रममा चार दिनको अवधिमा दुई जना बेपत्ता भएका छन् ।यसअघि एक महिलालाई स्थानीयले बीच खोलाबाट उद्धार गरेका थिए।
सोमबार खोला तर्ने क्रममा बारेकोट गाउँपालिका–४ का रमेश सुनारलाई तासुगाड खोलाले बगाएर बेपत्ता बनाएको छ ।जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख बुद्धिसागर पुरीले खोला पार गर्ने क्रममा बेपत्ता भएका सुनारको खोजीकार्य जारी रहेको बताए।
यसअघि गत बिहीबार मात्रै नलगाड नगरपालिका–११ दम्काका ४६ वर्षीय रतनबहादुर दमाई पनि यही खोलामा बेपत्ता भएका थिए। लगातारको घटनाले तासुगाड खोला वर्षायाममा सर्वसाधारणका लागि जोखिमपूर्ण बनेको छ ।
तासुगाडमा पुल नहुँदा वर्षायाममा स्थानीय बासिन्दा, यात्रु तथा सवारीसाधनले समेत जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता छ। गत साउन २९ गते आएको बाढीले स्थानीयका घर, बाटो तथा झोलुङ्गे पुलसमेत बगाएपछि यस क्षेत्रमा आवतजावत झनै जोखिमपूर्ण बनेको हो।
भेरी करिडोरजस्तो रणनीतिक सडकअन्तर्गत पर्ने मार्गमा सुरक्षित आवतजावतका लागि आवश्यक पुल तथा संरचना नहुँदा यात्रुहरूले हरेक वर्ष उर्लिएको खोलासँग जोखिम मोल्नुपर्ने अवस्था छ। तासुगाडमा दोहोरिइरहेका बेपत्ता तथा उद्धारका घटनाले सडक निर्माणसँगै सुरक्षित आवागमनका लागि आवश्यक पुल निर्माणलाई पनि तत्काल प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएको छ।
खोला तर्ने क्रममा हुने दुर्घटना संयोग मात्र होइन, पूर्वाधारको अभावले निम्त्याएको जोखिम हो। तासुगाडमा पुल नबन्दासम्म वर्षायाममा यात्रुको यात्रा सडकभन्दा बढी खोलाको बहावसँगको संघर्ष बन्ने अवस्था सृजना भएकाे छ।स्थानीयले तासुगाड खाेलामा बैकल्पिक आवागमनकाे ब्यवस्थापन गर्न माग गरेका छन ।उनीहरुले सामाजिक सन्जाल मार्फत बैकल्पिक आवागमनमा देखिएकाे ढिलाइ प्रति सरकार प्रति कडा आक्राेष ब्यक्त गरेका छन ।
पुलविहीन तासुगाडको त्रास :चार दिनमै दुई बेपत्ता, वर्षायाममा यात्रु जीवन जोखिममा
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २९ भाद्र २०८३, सोमबार १८:५९