ताजा समाचार

डाेल्पामा नमुना मतदान, शान्तिपूर्ण निर्वाचनका लागि संयुक्त सुरक्षा अभ्यास

विष्णुप्रसाद देवकोटा

डाेल्पा ।

डोल्पाको सदरमुकाम दुनै बजारमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको छ। मतदान प्रक्रिया कसरी सञ्चालन हुन्छ, मतदान केन्द्रमा हुन सक्ने भिड नियन्त्रण, अनुचित गतिविधि तथा सम्भावित धाधली रोकथामका उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले नमुना क्रियाकलाप प्रस्तुत गरिएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मतदान केन्द्रको सम्पूर्ण प्रक्रिया, मतदाता प्रवेशदेखि मत खसाल्ने तरिकासम्म व्यवहारिक रूपमा प्रदर्शन गरिएको थियो। साथै निर्वाचनका क्रममा सुरक्षाका विभिन्न चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा सुरक्षाकर्मीहरूद्वारा प्रत्यक्ष अभ्याससमेत गरिएको थियो।

नमुना मतदान कार्यक्रममा नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी बल तथा निर्वाचन प्रहरीले मतदान केन्द्रमा अपनाइने सुरक्षा सतर्कता, शान्ति सुव्यवस्था कायम गर्ने उपाय र आकस्मिक अवस्थाको व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन गरेका थिए। यसले निर्वाचनलाई सुरक्षित, विश्वसनीय र मर्यादित बनाउन सुरक्षा निकायहरूबीचको समन्वय र तयारीलाई स्पष्ट पारेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश चन्द्रदेव भारतीले आगामी फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाधलीरहित रूपमा सम्पन्न गर्नु सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, पत्रकार तथा नागरिक समाज सबैको साझा जिम्मेवारी भएको बताए। उनले मतदातालाई निर्भीक भई मतदान प्रक्रियामा सहभागी हुन आग्रहसमेत गरे।

नमुना मतदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जुनु ढकाल (हमाल), प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्का, सशस्त्र प्रहरी बलका डिएसपी दिपकराज भट्टलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेकाे थियो। कार्यक्रममा सहभागीहरूले यस्तो अभ्यासले मतदाता सचेतना बढ्नुका साथै निर्वाचनप्रति जनविश्वास बलियो अपेक्षा गरिएकाे छ ।

तपाईको प्रतिक्रिया