डोल्पा । डोल्पाको ठुलीभेरी नगरपालिका–७ अन्तर्गत जुफाल गाउँमा ट्याक्टर र एम्बुलेन्स दुर्घटना भएका छन्।
गएराती चैत ३० गते जुफाल बजारदेखि माझफालतर्फ जाँदै गरेको रा १ त २८४८ नम्बरको ट्याक्टर घुम्तीमा सडकमै पल्टिएर दुर्घटना भएको हो।
उक्त ट्याक्टर दुर्घटना भएकै स्थानमा नेपाल–भारत सहयोग अन्तर्गत सञ्चालनमा रहेको ०१९५ नम्बरको एम्बुलेन्स पनि दुर्घटनामा परेको छ। माझफाल स्वास्थ्य चौकीको एम्बुलेन्स जुफालबाट माझफालतर्फ जाने क्रममा साँघुरो सडकमा पल्टिएको ट्याक्टर पास गर्ने प्रयास गर्दा मोड नमिलेर सडकबाट तल खेतमा खसेको बताइएको छ।
दुवै सवारीका चालकसहित केही यात्रुहरु भने सकुशल रहेको जनाइएको छ।
स्थानीयका अनुसार जुफाल–माझफाल सडकखण्डमा सडकको ग्रेड नमिल्नु र तीव्र घुम्तीका कारण यस क्षेत्रमा पटक–पटक दुर्घटना हुने गरेको छ।

डोल्पा न्यूज । १ बैशाख २०८३, मंगलवार ०९:४६