विष्णुप्रसाद देवकोटा
डोल्पा । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा डोल्पाको मुड्केचुला गाउँपालिका–१ का दुई जना सम्पर्कविहीन भएका छन्।
मुड्केचुला–१ का लवि शाही र दिनिशा शाही बाढीपछि सम्पर्कमा नआएको आफन्त दिपक सिंह ठकुरीले जानकारी दिएका छन्।
लवि शाही रसुवास्थित त्रिशूली हाइड्रोपावर थ्री ए मा कार्यरत रहेको र दिनिशा शाही रसुवाको थुन्चे नजिकैको स्वास्थ्य चौकीमा कार्यरत रहेको आफन्त ठकुरीले बताएका छन्। बुधबार बिहान भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीपछि दुवै जनासँग सम्पर्क हुन नसकेको उनको भनाइ छ।
बाढीपछि उनीहरूको अवस्था अज्ञात रहेकाले तत्काल खोजी तथा उद्धारका लागि सम्बन्धित सुरक्षा निकाय, स्थानीय प्रशासन र सरोकारवाला निकायसँग आफन्तले आग्रह गरेका छन्।
बुधबार बिहान तिब्बततर्फबाट भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले सडक, पुल, बस्ती तथा जलविद्युत् आयोजनामा समेत व्यापक क्षति पुर्याएको छ। पछिल्लो विवरणअनुसार रसुवा, नुवाकोट र धादिङमा खोज तथा उद्धार अभियान तीव्र पारिएको छ।
बाढीको प्रभाव त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा समेत परेको छ। पछिल्लो विवरणमा विभिन्न स्थानमा शव फेला परेको र सयौँ व्यक्ति सम्पर्कविहीन रहेको जनाइएको छ।
यसबीच डोल्पाबाट रोजगारी, अध्ययन, स्वास्थ्य सेवा तथा अन्य कामका सिलसिलामा रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित क्षेत्रमा पुगेका नागरिकको अवस्थाबारे तत्काल तथ्यांक संकलन गर्नुपर्ने आवश्यकता देखिएको छ।
डोल्पाका कति नागरिक बाढी प्रभावित क्षेत्रमा पुगेका छन्, उनीहरू कहाँ छन् र सबै सुरक्षित अवस्थामा छन् कि छैनन् भन्ने यकिन गर्न स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित परिवारबीच समन्वय आवश्यक देखिएको छ।
बाढीको विपत्तिले मुलुक नै शोकमा रहेका बेला डोल्पाका नागरिकको अवस्थाबारे पनि तत्काल खोजी र यकिन विवरण सार्वजनिक गर्नुपर्ने आवाज उठ्न थालेको छ।
डोल्पाका दुई नागरिक सम्पर्कविहीन भएको खबरपछि आफन्तमा चिन्ता बढेको छ। उनीहरूको शीघ्र खोजी तथा सकुशल उद्धारको अपेक्षा गरिएको छ।
भोटेकोशीको बाढीमा डोल्पाका दुई नागरिक सम्पर्कविहीन, खोजीका लागि आफन्तको अपिल
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ११ भाद्र २०८३, बिहीबार ०७:१५