ताजा समाचार

रोकायाको निधनमा ठूलीभेरी नगरपालिकाले शोक मनाउने

विष्णुप्रसाद देवकोटा
डोल्पा । डोजर दुर्घटनामा परी ठूलीभेरी नगरपालिका–६ कँडातालीका डोजर अपरेटर मन्दिर रोकायाको निधन भएपछि ठूलीभेरी नगरपालिकाले शोक मनाउने भएको छ।
नगरपालिकाले जारी गरेको शोक वक्तव्यअनुसार ठूलीभेरी नगरपालिका–२ लोचा क्षेत्रमा सडक खन्ने क्रममा २०८३ वैशाख २७ गते अचानक पहिरो आएर डोजर दुर्घटना हुँदा रोकाया गम्भीर घाइते भएका थिए। उपचारका लागि जिल्ला अस्पताल दुनै लगिएका उनको उपचारकै क्रममा ३४ वर्षको उमेरमा निधन भएको हो।
नगरपालिकाले रोकायाको असामयिक निधनले नगरपालिका परिवार अत्यन्त मर्माहत र स्तब्ध भएको जनाएको छ। नगरपालिकाको विकास निर्माण तथा सेवा प्रवाहका क्रममा डोजर अपरेटरका रूपमा रोकायाले निर्वाह गरेको जिम्मेवारी र पु¥याएको योगदानप्रति नगरपालिकाले सम्मान व्यक्त गरेको छ।
दुःखद घटनाप्रति शोक व्यक्त गर्दै २०८३ वैशाख २८ गते एक दिनका लागि ठूलीभेरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा नगरपालिकाअन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्था र वडा कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको छ।
नगर प्रमुख सुवर्णकुमार बुढा र निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्गबहादुर बुढाद्वारा जारी वक्तव्यमा दिवंगत रोकायाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
नगरपालिकाले शोकाकुल परिवारलाई यस असह्य पीडा सहन धैर्य, साहस र शक्ति प्राप्त होस् भनी ईश्वरसँग प्रार्थनासमेत गरेको छ।

तपाईको प्रतिक्रिया