ताजा समाचार

डाेल्पाकाे कोटखाैलाेमा स्वर्गीय पुजारी विष्णुरुद्र उपाध्यायको शालिक अनावरण

विष्णु देवकोटा

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोटस्थित श्रीबालात्रिपुरासुन्दरी योगमाया भगवती मन्दिरका स्वर्गीय मुख्य पुजारी विष्णुरुद्र उपाध्यायको स्मृतिमा कोटखौलोमा अर्धकद मूर्ति स्थापना गरिएको छ।

वि.सं. १९८६ चैत ८ गते जन्मनुभएका उपाध्यायको २०७७ माघ १४ गते निधन भएको थियो। ब्राह्मण टोल, त्रिपुराकोटमा जन्मनुभएका उहाँ धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँले लामो समयसम्म श्रीबालात्रिपुरासुन्दरी योगमाया भगवती मन्दिरमा मुख्य पुजारीका रूपमा सेवा गर्दै परम्परागत पूजा–अर्चना, संस्कार संरक्षण र धार्मिक चेतनाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

स्वर्गीय उपाध्यायको अर्धकद शालिक उहाँकी धर्मपत्नी रमादेवी उपाध्याय र पुत्र विष्णु प्रसाद न्यौपानेद्वारा संयुक्त रूपमा अनावरण गरिएको हो। शालिक अनावरण कार्यक्रममा स्थानीय बासिन्दा, भक्तजन तथा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको यज्ञप्रसाद उपाध्यायले बताए।

यस अवसरमा स्वर्गीय पुजारी उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रसादस्वरूप पुरी, तरकारी र हलुवाको भोजन वितरण गरिएको थियो। कार्यक्रममा सहभागीहरूले उहाँको सरल स्वभाव, धार्मिक निष्ठा र समुदायप्रतिको समर्पणलाई स्मरण गर्दै भावपूर्ण श्रद्धा व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया