ताजा समाचार

डोल्पामा स्वयंसेवी रक्तदाता समाज गठन:रक्त अभाव न्यूनीकरणमा जाेड

विष्णुप्रसाद देवकोटा

डोल्पा, चैत्र ७ गते। हिमाली जिल्ला डोल्पामा देखिँदै आएको रगत अभावको समस्या न्यूनीकरण गर्ने उद्देश्यसहित नेपाल स्वयंसेवी रक्तदाता समाजको ४५औँ जिल्ला कमिटी गठन गरिएको छ।

जिल्लामा आपतकालीन अवस्थामा समेत रगत अभाव हुने समस्यालाई मध्यनजर गर्दै समितिले रक्त सञ्चिति बढाउने र नियमित रक्तदान अभियान सञ्चालन गर्ने लक्ष्य लिएको छ।

समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यको प्रमुख आतिथ्यता, स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डा. सिजन रावलको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलको विशेष आतिथ्यतामा समिति गठन गरिएकाे हाे ।

नवगठित समितिले विशेषगरी डोल्पा अस्पतालमा भइरहने रगत अभावलाई न्यूनीकरण गर्दै आवश्यक पर्दा सहज रूपमा रगत उपलब्ध गराउने संयन्त्र विकास गर्ने, रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने र जिल्लामा सुरक्षित र व्यवस्थित रक्त सञ्चिति प्रणाली स्थापना गर्न पहल गर्ने जनाएको छ।

कार्यक्रमकै अवसरमा धुर्वतारा आधारभूत विद्यालय अन्तर्गत अपाङ्ग स्रोत कक्षामा अध्ययनरत कक्षा ४ की छात्रा शर्मिला बिकको कक्षा १२ सम्मको सम्पूर्ण शैक्षिक खर्च समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले व्यहोर्ने प्रतिबद्धता जनाएका छन।

नवगठित जिल्ला कार्यसमितिमा राजन कुमार डाँगी अध्यक्ष, दिलमाया केसी उपाध्यक्ष, कर्ण वि.क. सचिव, मिनराज बुढा कोषाध्यक्षसहित ११ सदस्यीय समिति चयन गरिएको छ ।यसैगरी राज्य लक्ष्मी हमाल र डा. अखण्ड उपाध्याय मनोनीत सदस्य रहेका छन्।

समितिले अब जिल्लामा रक्तदान अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउँदै मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया