ताजा समाचार
ब्रेकिङ न्युज

यार्सागुम्बा संकलनका क्रममा लेक लागेर जाजरकोटका एक जनाको डोल्पामा मृत्यु

डोल्पा, जेठ १८ — यार्सागुम्बा संकलनका लागि डोल्पा पुगेका जाजरकोटका एक जनाको लेक (उच्च हिमाली क्षेत्रमा हुने स्वास्थ्य समस्या) लागेर मृत्यु भएको छ।
मृत्यु हुनेमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका–११ निवासी ४३ वर्षीय लोकबहादुर सिंह रहेका छन्। उनी यार्सागुम्बा संकलनका लागि डोल्पो बुद्ध गाउँपालिका–३ अन्तर्गत धो–टास्की क्षेत्रमा रहेको तिनजङखोला पाटन पुगेका थिए।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार पाटन क्षेत्रमा रहँदा सिंहलाई एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि जिल्ला अस्पताल दुनैतर्फ ल्याउने क्रममा जेठ १६ गते बिहान करिब ७ बजे काइके गाउँपालिका–७ को लैनी क्षेत्रमा मृत्यु भएको हो।
प्रहरीका अनुसार सिंह उपचारका लागि जेठ १२ गते धोबाट दुनैतर्फ हिँडेका थिए। उनी एक्लै यात्रा गरिरहेका कारण तीन दिनसम्म सम्पर्कमा नआएपछि आफन्तले खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय डोल्पामा लिखित निवेदन दिएका थिए।
निवेदन प्राप्त भएपछि प्रहरी निरीक्षक टोपेन्द्र बुढामगरको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा सिंहको शव फेला पारी जिल्ला अस्पताल दुनै ल्याएको थियो। अस्पतालमा पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाइएको जिल्ला अस्पताल दुनैका डाक्टर सिजन रावलले जानकारी दिए ।
यार्सागुम्बा संकलनको मौसम सुरु भएसँगै डोल्पाका उच्च हिमाली पाटनहरूमा हजारौं संकलक पुग्ने गरेका छन्। स्वास्थ्य सावधानीको अभाव तथा लेक लाग्ने समस्याका कारण हरेक वर्ष मानवीय क्षति हुने गरेको छ।

तपाईको प्रतिक्रिया