ताजा समाचार
डोल्पामा हाइड्रोको अर्को पाइला :फेदी खोला जलविद्युत 

डाेल्पाकाे मुड्केचुला–४ इलमा फेदी खोला जलविद्युत् आयोजनाबारे सार्वजनिक सुनुवाइ

विष्णुप्रसाद देवकोटा/लाल बहादुर बुढा

डोल्पामा ६ मेगावाट क्षमताको अर्धजलाशययुक्त जगदुल्ला हाइड्रोपावर निर्माण कार्य अघि बढिरहेकै बेला मुड्केचुला गाउँपालिका–४ इलमा अर्को जलविद्युत् आयोजना अघि बढाउने तयारी गरिएको छ।यसैबीच  प्रस्तावित फेदी खोला जलविद्युत् आयोजना (३.५ मेगावाट) सम्बन्धी प्रारम्भिक वातावरणीय परीक्षण (IEE) को मस्यौदाबारे सार्वजनिक सुनुवाइ कार्यक्रम मार्फत दाेर्साे जलविद्युत आयाेजनाकाे तयारी बारे जानकारी दिइएकाे हाे ।आयाेजना कर्णाली प्रदेशको डोल्पा जिल्लास्थित मुड्केचुला गाउँपालिका क्षेत्रमा निर्माण गर्ने योजना रहेको छ।

फेदीखोला हाइड्रो कम्पनी प्रा.लि.को आयोजनामा भएको कार्यक्रममा आयोजनासम्बन्धी वातावरणीय तथा सामाजिक प्रभावका विषयमा स्थानीयसँग छलफल गरिएको छ।

नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत विद्युत् विकास विभागबाट विद्युत् उत्पादनका लागि सर्वेक्षण अनुमति प्राप्त भइसकेको र सोही आधारमा प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन गरिएको आयोजकले जानकारी गराएकाे छ।

वातावरण संरक्षण नियमावली, २०७७ अनुसार १ देखि ५० मेगावाटसम्मका जलविद्युत् आयोजना निर्माणअघि प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने प्रावधान अनुसार अध्ययन गरिएको बताइएको छ।  आयोजनासँग सम्बन्धित आधारभूत तथ्यांक संकलन गर्नु, सम्भावित वातावरणीय प्रभाव पहिचान गर्नु तथा त्यसका न्यूनीकरणका उपाय प्रस्ताव गर्नु आयाेजनाकाे उद्देश  रहेको प्रबन्धक ईन्जिनियर सुमन पुडासैनीले बताए ।

आयोजनाबाट स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने, सीप विकास तालिम उपलब्ध गराउने तथा समुदायलाई प्राथमिकता दिने योजना समेत प्रस्तुत गरिएको थियो। सकारात्मक प्रभाव अभिवृद्धिका लागि करिब ३ लाख ९६ हजार ५०० रुपैयाँ छुट्याइएको आयोजकले जनाएको छ।

त्यस्तै, वातावरणीय प्रभाव न्यूनीकरणका लागि सुख्खा याममा न्यूनतम १० प्रतिशत पानी फेदी खोलामा छोड्ने, भूक्षय तथा पहिरो नियन्त्रणका लागि वृक्षारोपण र जैविक प्रविधि अपनाउने, आवश्यक निजी जग्गा सहमतिमै अधिग्रहण गर्ने तथा क्षतिपूर्ति प्रदान गर्ने योजना रहेको कम्पनी अध्यक्ष कमल राेकायाले बताए ।

आयोजनाका कर्मचारीका लागि खानेपानी, शौचालय तथा स्वास्थ्य सुविधा व्यवस्था गर्ने र स्थानीय समुदायसँग मिलेर वन तथा वन्यजन्तु संरक्षण, सरसफाइ र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो।

आयोजना प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रम सञ्चालनका लागि ५२ लाख १४ हजार ५०० रुपैयाँ बराबर बजेट छुट्याइएको जानकारी पनि दिइएको छ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय बासिन्दाले आयोजनाबाट वातावरण, पानीको बहाव, खेतीपाती र स्थानीय जीवनमा पर्न सक्ने प्रभावबारे चासो राख्दै सुझाव दिएका थिए।

आयोजक पक्षले उठेका सुझावलाई अध्ययन प्रतिवेदनमा समेटेर आवश्यक सुधार गरिने प्रतिबद्धता जनाएको छ।कार्यक्रम  कम्पनीका निर्देशक कमल रोकायाकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा आयोजना प्रबन्धक इन्जिनियर सुमन पुडासैनीले आयोजनाको विस्तृत जानकारी प्रस्तुत गरेका थिए।

तपाईको प्रतिक्रिया