विष्णुप्रसाद देवकोटा
(डोल्पा), असार १० – डोल्पाको जगदुल्ला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३० करोड २१ लाख ३६ हजार ३६ रुपैयाँ ६० पैसाको बजेट पारित गरेको छ। गाउँपालिकाको केन्द्र माझगाउँमा आयोजित २०औँ गाउँसभा अधिवेशनबाट उक्त बजेट सर्वसम्मत रूपमा पारित गरिएको हो।
गाउँपालिका उपाध्यक्ष अमृता लामा ले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, आर्थिक विकास, पूर्वाधार निर्माण तथा सुशासनलाई विशेष प्राथमिकतामा राखिएको छ। उपाध्यक्ष लामाले यो आफ्नो कार्यकालको अन्तिम बजेट भएको उल्लेख गर्दै जनमुखी र परिणाममुखी कार्यक्रमहरू कार्यान्वयनमा केन्द्रित रहने बताइन्। उनले विकासका योजनाहरू सफल बनाउन जनप्रतिनिधि, कर्मचारी र नागरिकबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइन्।
पारित बजेटमध्ये चालुतर्फ १७ करोड ७ लाख ७६ हजार रुपैयाँ र पुँजीगततर्फ १३ करोड १३ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर पाण्डे ले जानकारी दिए।
बजेटअनुसार कृषि क्षेत्रमा ७८ लाख ३५ हजार, पशु विकासमा ३३ लाख, उद्योगतर्फ २१ लाख ३१ हजार, पर्यटन क्षेत्रमा २५ लाख, पूर्वाधार विकासमा ९ करोड ५ लाख ६० हजार, शिक्षा क्षेत्रमा ७ करोड ८३ लाख ८५ हजार तथा स्वास्थ्य क्षेत्रमा २ करोड १७ लाख रुपैयाँ विनियोजन गरिएको छ।
गाउँपालिका अध्यक्ष नारासिंह रोकाया ले गाउँसभाको अध्यक्षता गर्दै उपाध्यक्षद्वारा प्रस्तुत बजेट सभामा पेश गरेका थिए। उनले गाउँपालिकाको समग्र विकास, प्रभावकारी सेवा प्रवाह, पारदर्शिता, जवाफदेहिता तथा नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम तर्जुमा गरिएको बताए।
अध्यक्ष रोकायाले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा विस्तार, स्थानीय आर्थिक गतिविधिको प्रवर्द्धन, आवश्यक पूर्वाधार निर्माण तथा सुशासन सुदृढीकरणमार्फत “समृद्ध जगदुल्ला” निर्माण गर्ने लक्ष्यका साथ बजेट पारित गरिएको उल्लेख गर्दै यसको सफल कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए।
जगदुल्ला गाउँपालिकाले ल्यायो ३० करोडभन्दा बढीको बजेट
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । १० असार २०८३, बुधबार १७:५१