ताजा समाचार

ठूलीभेरीमा डिजिटल प्रणाली:अब हाजिरीमा औँठाछाप, सेवाप्रवाहमा जवाफदेहिता

विष्णुप्रसाद देवकाेटा
डोल्पा । कर्मचारीको उपस्थितिलाई प्रविधिसँग जोड्दै डोल्पाको ठूलीभेरी नगरपालिकाले विद्युतीय (बायोमेट्रिक) हाजिरी प्रणाली सञ्चालनमा ल्याएको छ।
नगरपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवामा समयपालना, पारदर्शिता र प्रशासनिक जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले कार्यालयमा बायोमेट्रिक हाजिरी प्रणाली जडान गरी सञ्चालनमा ल्याइएको नगर प्रमुख सुवर्णकुमार बुढाले बताए।
उनका अनुसार विज्ञान तथा प्रविधिको युगमा स्थानीय तहको प्रशासन पनि समयानुकूल प्रविधिमैत्री बन्न आवश्यक भएकाले विद्युतीय हाजिरी प्रणाली लागू गरिएको हो। यसले कर्मचारीको उपस्थितिलाई व्यवस्थित र पारदर्शी बनाउनुका साथै सेवाग्राहीले समयमै सहज रूपमा सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्ने नगर प्रमुख बुढाको विश्वास छ।
“प्रविधिको विकाससँगै हामी पनि समयअनुसार अघि बढ्नुपर्छ,” नगर प्रमुख बुढाले भने, “विद्युतीय हाजिरी प्रणाली नगरपालिकाको प्रशासनिक सुधारतर्फको एउटा उपलब्धि हो। आगामी दिनमा नगरपालिकाअन्तर्गतका सबै वडा तथा सम्बन्धित निकायमा समेत यो प्रणाली विस्तार गरिनेछ।”
बायोमेट्रिक हाजिरीले कर्मचारीको नियमित उपस्थितिको अभिलेखलाई थप विश्वसनीय बनाउनुका साथै कार्यालय सञ्चालनमा अनुशासन र जिम्मेवारी बढाउने अपेक्षा गरिएको छ।
ठूलीभेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोषबहादुर खड्काले विद्युतीय हाजिरी प्रणालीको सञ्चालनसँगै कार्यालयको समग्र कार्यक्षमतामा सकारात्मक सुधार आउने बताए।
उनका अनुसार प्रणालीले सेवा प्रदायक निकायलाई थप जिम्मेवार बनाउनुका साथै सेवाग्राहीले निर्धारित समयमा सहज र प्रभावकारी सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्नेछ।

तपाईको प्रतिक्रिया