ताजा समाचार
२०८२ फागुन २१ प्रतिनिधि सभा सदस्य निर्वाचन

दुर्गमताले छेक्यो उम्मेदवारको पाइला,नदेखेरै मत हाल्दै उपल्लाे डाेल्पाका मतदाता

विष्णुप्रसाद देवकोटा

डाेल्पा।फागुन १८ गते ।निर्वाचनको मिति नजिकिँदै जाँदा उपल्लो डोल्पाका हिमालपारिका बस्तीहरू फेरि एकपटक राज्यसँगको दूरी नापिरहेका छन्। कागजमा लोकतन्त्र समान छ, तर भूगोलले यहाँ समानताको बाटो सँधै उकालो बनाइदिन्छ।

उत्तरी सिमानामा, चीन अन्तर्गतको तिब्बत स्वायत्त क्षेत्र सँग जोडिएका गाउँहरू हिउँ, चिसो र कठिन उकालोको घेराभित्र अझै प्रत्यक्ष चुनावी उपस्थितिबाट टाढा छन्। सदरमुकाम दुनैदेखि दिनौं लाग्ने पैदल दूरी र अनिश्चित मौसमको कठोरता यहाँको नियति जस्तै बनेको छ।

दुर्गमता र कठिन भूगोलका कारण प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका कुनै पनि दलका प्रत्यासी अहिलेसम्म घरदैलोमा पुगेका छैनन्। गाउँका आँगनमा न भाषण गुञ्जिएको छ, न हात मिलाउने औपचारिकता नै निभाइएको छ। चुनावी नारा रेडियोका तरंग र सामाजिक सञ्जालका सन्देशमा सीमित छन्; हिमालको फेदीमा बस्ने मतदाताले भने उम्मेदवारको मुहार नदेखेरै निर्णय लिनुपर्ने अवस्था बनेको छ।

उपल्लो भेगअन्तर्गतका डोल्पोबुद्ध , छार्काताङसोङ  र शे–फोक्सुण्डो गाउँपालिकाका बस्तीहरूमा लोकतन्त्र यसपटक पनि भूगोलसँग संघर्षरत देखिन्छ।

तर यसबीच केही समयअघि नेपाली कांग्रेसको प्रचारप्रसार टोली हिमाल चिर्दै यी बस्तीहरूमा पुगेको देखियो । नेता–कार्यकर्ताले घरदैलो, भेटघाट र साना भेला गर्दै आफ्नो उपस्थिति दर्ज गराएका छन। त्यो उपस्थिति केवल प्रचार अभियान मात्र थिएन; वर्षौंदेखि सीमित घेराभित्र घुमिरहेको राजनीतिक अभ्यासमाथि एउटा चुनौती पनि हाे।

यद्यपि उम्मेदवार स्वयंले भने अझै ती ढुंगामाटो टेक्न सकेका छैनन्। लोकतन्त्रको आत्मा प्रत्यक्ष संवादमा हुन्छ।मतदाताको प्रश्न, उम्मेदवारको जवाफ, र विश्वासको सेतु। जब त्यो सेतु निर्माण नै हुँदैन, चुनाव केवल प्रतीक र चिन्हमा सीमित हुने जोखिम बढेकाे छ।

सदरमुकाम दुनैदेखि टाढा, राज्यको उपस्थितिसमेत न्यून महसुस हुने ती बस्तीमा मतदाताले फेरि एकपटक ‘अनुहार नदेखिएको प्रतिनिधि’ छान्नुपर्ने अवस्था छ। कठोर हावासँगै यहाँको मौनता अझै गहिरो छ ।मानौं हिमाल आफैंले प्रश्न गरिरहेको हो के दुर्गमता सधैं लोकतन्त्रको बाधक नै बन्नेछ?के उपल्लो डोल्पाका मतदाताले कहिल्यै आफ्ना प्रत्यासीसँग आँखामा आँखा जुधाएर प्रश्न सोध्ने अवसर पाउनेछन्?

मत खसालिनेछ, परिणाम आउनेछ, प्रतिनिधि चयन हुनेछ। तर उपल्लो डोल्पाको यो चुनावी कथा फेरि पनि दूरी, दुर्गमता र संवादको अभावको कथा बनेर इतिहासमा लेखिने खतरा कायमै छ।उपल्लो डाेल्पाका तीन गाउँपालिकाकाे मतदाता संख्या  ४ हजार ३ सय ६६ छ।

तपाईको प्रतिक्रिया