ताजा समाचार

किशोरी बलात्कारपछि हत्या घटनामा नागरिक समाजको डाेल्पाकाे ध्यानाकर्षण

कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा किशोरीमाथि बलात्कारपछि हत्या भएको घटनाप्रति नागरिक समाज डाेल्पाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नागरिक समाज डोल्पालगायत विभिन्न संघ–संस्थाले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न प्रमुख जिल्ला अधिकारी जुन हमाललाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएका छन ।

फागुन २३ गते गुर्पाकोट गाउँपालिका–६ स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीया कक्षा ११ मा अध्ययनरत एक किशोरीमाथि बलात्कारपछि हत्या गरिएको भन्दै घटनाले जिल्लाबासीलाई स्तब्ध बनाएको नागरिक समाजले जनाएको छ।

वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्क नजिकको जंगलमा उक्त किशोरी मृत अवस्थामा फेला परेको जनाइएको छ।

त्यसैगरी दैलेखकाे एक गाउँमा १२ वर्षीया बालिका काकाबाट बलात्कृत भई गर्भवती भएको घटनाप्रति समेत नागरिक समाजले गम्भीर चासो व्यक्त गरेको छ। बालिका तथा महिलामाथि हुने यौन हिंसा र अमानवीय अपराधले समाजलाई गम्भीर रुपमा आहत बनाएको ज्ञापनपत्रमा उल्लेख छ ।

घटनाको निष्पक्ष, गहिरो र सूक्ष्म अनुसन्धान गरी वास्तविक दोषी पत्ता लगाई कानुन बमोजिम कडा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको नागरिक समाजले जनाएकाे छ।महिलामाथि हुने हिंसा तथा बालबालिकामाथि हुने यौन दुर्व्यवहार रोक्न प्रभावकारी कदम चाल्न समेत माग गरिएको छ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ हमाले  घटनाप्रति दुख ब्यक्त गर्दै सुरक्षित, सभ्य, समानतामूलक र न्यायपूर्ण समाज निर्माणका लागि सबै सरकारी निकाय, नागरिक समाज तथा आम नागरिकबीच समन्वय, सहकार्य र सक्रिय भूमिका आवश्यक रहेको बताइन् ।

उक्त ध्यानाकर्षण पत्रमा नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढा, बालविवाह विरुद्धको साझा अभियान सञ्जाल कर्णाली प्रदेशका प्रतिनिधि रणबहादुर कार्की , इन्सेक प्रतिनिधि विष्णुप्रसाद देवकोटा गैरसरकारी संस्था जिल्ला कार्यसमिति डोल्पाका सदस्य चन्द्रबहादुर राेकाया, अन्तरपार्टी महिला सञ्जालकि अध्यक्ष माया कुमारी ठकुल्ला बालविवाह विरुद्धको साझा अभियान सञ्जालकि जुनु हिराचन लागायतकाे टाेलीले प्रजिअ हमाल र प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्कालाई भेटेर ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएका हुन ।

;
तपाईको प्रतिक्रिया