ताजा समाचार

डोल्पामा १४ बोरा सिलाजितसहित दुई जना पक्राउ

विष्णुप्रसाद देवकोटा 

डोल्पाको दुनैस्थित खानेपानी कार्यालय नजिकबाट प्रहरीले सिलाजितजस्तो देखिने ठूलो परिमाणको पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा मुड्केचुला गाउँपालिका–८ निवासी ३० वर्षीय तिलक रोकाया र २५ वर्षीय सूर्य बोहोरा रहेका छन्। उनीहरूलाई मंगलबार दिउँसो करिब २:१५ बजे ठूलीभेरी नगरपालिका–३ मेलसेराबाट दुनै बजारतर्फ सिलाजितजस्तो पदार्थ ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानेपानी कार्यालय क्षेत्र नजिकबाट १४ बोरा (करिब ४ क्विन्टल ४२ केजी) उक्त पदार्थ बरामद गरेको हो।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा उनीहरूसँग रहेको जडिबुटी संकलनसम्बन्धी इजाजतपत्रको म्याद २०८२ चैत ३ गतेमै सकिएको पाइएको छ।

बरामद गरिएको पदार्थ र पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दुनै पठाइएको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालयका प्रमुख जितेन्द्र महतका अनुसार बरामद सामग्री नियमित प्रक्रिया अन्तर्गत रहेको र इजाजतपत्रको म्याद थप गर्न सकिने व्यवस्था भएकाले नियमानुसार प्रक्रिया पूरा गरी उनीहरूलाई आजै साँझसम्ममा छाडिने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया