ताजा समाचार

दुनैको मुहार फेर्न १५ करोडको योजना, मन्त्री बुढाद्वारा शिलान्यास

विष्णुप्रसाद देवकोटा
कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाले डोल्पाको सदरमुकाम दुनैको समग्र भौतिक पूर्वाधार सुधारका लागि बहुप्रतीक्षित योजनाको शिलान्यास गरेका छन्।
भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाले सञ्चालन गर्न लागेको “दुनै सदरमुकाम भौतिक पूर्वाधार विकास” योजना अन्तर्गत सडक स्तरोन्नति, ढल व्यवस्थापन तथा बजार क्षेत्रको पूर्वाधार विकासका काम एकैपटक अघि बढाइने भएको छ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाका कार्यालय प्रमुख इन्जिनियर टेक हितानले योजनाको विस्तृत विवरण प्रस्तुत गर्दै कुल १५ करोड १८ लाख १५ हजार १ सय २ रुपैयाँ लागत अनुमान रहेको जानकारी दिए।

उनका अनुसार निर्माण कार्यका लागि बागमती/खड्का/ओम जेभी, काठमाडौंसँग ७ करोड ४५ लाख २६ हजार ८ सय ८२ रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ। २०८३ असार ३० गते सम्झौता भएको उक्त योजना २०८६ असोज ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
इन्जिनियर हितानका अनुसार योजनाअन्तर्गत दुनै बेलिब्रिज–हेलिप्याड सडक, काठेपुल–शशस्त्र क्याम्प सडक, काठेपुल–रंगशाला–जिल्ला अस्पताल सडक स्तरोन्नति, कालिका मन्दिरदेखि टोलाखोला हुँदै मुख्य बजारसम्म सडक स्तरोन्नतिसहित ढल निर्माण तथा भेरी करिडोरसँग जोडिने शाखा सडकको स्तरोन्नति र फराकिलो बनाउने कार्य गरिनेछ।
शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकाया, प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि, जनप्रतिनिधि र स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।
मन्त्री बुढाले योजनालाई निर्धारित समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै सदरमुकाम दुनैलाई व्यवस्थित, सुरक्षित र आधुनिक पूर्वाधारयुक्त बजारका रूपमा विकास गर्ने प्रदेश सरकारको प्रतिबद्धता दोहोर्याएका थिए।

तपाईको प्रतिक्रिया