ताजा समाचार

खानेपानी योजनाको दिगोपनामा जोड दिदै त्रिपुरासुन्दरीमा जल सम्मेलन सम्पन्न

विष्णुप्रसाद देवकोटा
डोल्पा, असार १ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा खानेपानी तथा सरसफाइ योजनाको दिगोपना, सुशासन र उपभोक्ता समितिको संस्थागत सुदृढीकरणलाई केन्द्रमा राखेर दुई दिवसीय जल सम्मेलन सम्पन्न भएको छ।
नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता शाखाको आयोजना तथा सुस्वा आयोजना सहयोग इकाइ जुफालको सहजीकरणमा आयोजित सम्मेलनमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखहरू, जनप्रतिनिधि, नगरभित्रका ४२ वटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी, मर्मत सम्भार कार्यकर्ता तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सम्मेलनलाई सम्बोधन गर्दै त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र राेकायाले गैह्रसरकारी संस्थाहरुले उपाय मात्र सिकाउने भएकाले त्यसकाे दिर्घकालिन प्रयाेग र ब्यवस्थापनका लागि स्थानीय लगाब आवश्यक पर्ने बताए ।नगर प्रमुख राेकायाकाे फिनल्यान्ड सरकारकाे आर्थिक सहयाेगमा सुस्वा परियाेजनाले गरेका दिगाे खानेपानी सरसफाइ क्षेत्रकाे विकास समाबेशी र समानतामा आधारित र महत्त्वपूर्ण रहेकाे भनाइ थियाे।

प्रमुख प्रशासकीय अधिकृत राजु कुवाँर ले दुर्गम हिमाली भूगोलका कारण आधारभूत सेवाको पहुँच विस्तार चुनौतीपूर्ण भए पनि “कोही पनि सेवाबाट पछि नपरोस्” भन्ने मूल मान्यताका साथ नगरपालिका अघि बढिरहेको बताए। उनका अनुसार नगरभित्र रहेका ४२ वटा खानेपानी योजनामध्ये २१ वटा संरचना निर्माण सम्पन्न भइसकेका छन्।
स्थानीय सरकार केवल सेवा प्रदायक निकाय नभई स्थानीय शासनलाई प्रभावकारी बनाउने अभियानमा रहेको उल्लेख गर्दै उनले सह–शासन, सह–निर्माण र सह–उत्पादनको अवधारणामा आधारित विकास अभ्यासलाई नगरपालिकाले प्राथमिकता दिएको बताए। आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा बजेट निर्माणको तयारी भइरहेका बेला प्रमाणमा आधारित योजना छनोट, लक्षित समुदायको अर्थपूर्ण सहभागिता, संस्थागत क्षमता विकास तथा पारदर्शी र उत्तरदायी सेवा प्रवाहलाई केन्द्रमा राखिएको उनले स्पष्ट पारे।
कुवाँरले विकास साझेदार संस्थाहरू स्थायी रूपमा समुदायमा नरहने भएकाले निर्माण भएका संरचनाको संरक्षण, मर्मत सम्भार र दिगोपनाको मुख्य जिम्मेवारी सम्बन्धित उपभोक्ता समुदायले नै वहन गर्नुपर्ने बताए। फिनल्यान्ड सरकारको सहयोगमा सञ्चालित खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रमले दुर्गम क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै उनले त्यसको उपलब्धि जोगाउने दायित्व समुदायकै काँधमा रहेको धारणा राखे।
सुस्वा परियोजनाका सुशासन विज्ञ निराजन श्रेष्ठ ले परियोजना आगामी आर्थिक वर्ष २०८३/०८४ मा बहिर्गमनको चरणमा पुग्ने जानकारी दिँदै हाल कर्णाली प्रदेशका १० जिल्लाका २८ स्थानीय तहमा कार्यक्रम सञ्चालन भइरहेको बताए। उनका अनुसार परियोजनाले तीन प्रमुख क्षेत्रमा काम गरिरहेको छ।
पहिलो, स्थानीय तह र उपभोक्ता संस्थाको संस्थागत सुदृढीकरण तथा नतिजामुखी क्षमता विकास; दोस्रो, जलवायु उत्थानशील खानेपानी तथा सरसफाइ योजनाको मर्मत, पुनःस्थापना र पुनर्निर्माण; र तेस्रो, सरसफाइ तथा सामाजिक रूपान्तरण। विशेषगरी छाउपडी उन्मूलन, मर्यादित महिनावारी व्यवस्थापन तथा यससम्बन्धी नीति, कार्यविधि र संस्थागत संरचना विकासमा परियोजनाले विगत चार वर्षदेखि कर्णालीका स्थानीय तहहरूसँग सहकार्य गरिरहेको उनले बताए।

त्यसैगरी सुस्वा परियोजनाका अर्का विज्ञ राम तिवारी ले संविधानले प्रत्याभूत गरेका मौलिक अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न स्थानीय सरकारहरूले लैङ्गिक समानता, सामाजिक समावेशिता तथा अपाङ्गता भएका व्यक्तिका सवाललाई योजनादेखि कार्यान्वयनसम्म समेट्नुपर्नेमा जोड दिए। स्थानीय सरकार सञ्चालन ऐनको मर्मअनुसार समावेशी दृष्टिकोणबाट विकास कार्यक्रम सञ्चालन गर्न सके मात्रै समावेशी सरकार र समावेशी विकासको राष्ट्रिय लक्ष्य हासिल हुने उनको भनाइ थियो।
दुई दिनसम्म चलेको सम्मेलनमा खानेपानी तथा सरसफाइ योजनाको दिगोपना, प्रभावकारी सञ्चालन तथा व्यवस्थापन, मर्मत सम्भार प्रणाली, वित्तीय व्यवस्थापन, सुशासन, पारदर्शिता, सेवा शुल्क संकलन, संस्थागत विकास तथा उपभोक्ता समितिको क्षमता अभिवृद्धिसम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो।
सहभागीहरूले आफ्ना योजनाहरू कार्यान्वयनका क्रममा भोगिरहेका चुनौती, उपलब्ध अवसर र असल अभ्यासहरू प्रस्तुत गर्दै खानेपानी तथा सरसफाइ सेवाको गुणस्तर अभिवृद्धि गर्ने उपायबारे अनुभव आदानप्रदान गरेका थिए। सम्मेलनमा योजनाको दीर्घकालीन सञ्चालनका लागि नियमित मर्मत सम्भार, प्रभावकारी महसुल संकलन, वित्तीय अनुशासन तथा समुदायको स्वामित्व बढाउनुपर्ने निष्कर्ष निकालिएको थियो।
कार्यक्रम अन्तर्गत उपभोक्ता समितिहरूको स्व–मूल्याङ्कन समेत गरिएको थियो। मूल्याङ्कनका आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने समितिहरूलाई प्रशंसापत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो।

पुरस्कृत हुने समितिहरूमा त्रिपुरासुन्दरी–१ को तीर्थखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, त्रिपुरासुन्दरी–८ दागिनाको चौरीखोला–रातिजुर खानेपानी तथा सरसफाइ समिति तथा त्रिपुरासुन्दरी–९ को चु खानेपानी तथा सरसफाइ उपभोक्ता समिति रहेका छन्।
सम्मेलनको समापनमा उपभोक्ता समिति पदाधिकारी, मर्मत सम्भार कार्यकर्ता, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले खानेपानी तथा सरसफाइ योजनाको दिगोपना सुनिश्चित गर्ने, नियमित मर्मत सम्भारलाई प्राथमिकता दिने, पारदर्शी वित्तीय व्यवस्थापन कायम गर्ने, प्रभावकारी महसुल संकलन गर्ने तथा नगरपालिका र उपभोक्ता समितिबीचको समन्वयलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै सामूहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए।

नगरप्रमुख जनचन्द्र राेकायाकाे अध्यक्षतामा सम्पन्न दुई दिवसीय जल सम्मेलनमा निर्धारित समयमै कक्षामा सहभागीता जनाउने सर्वपक्षीय सहभागीहरु मध्येका कृषि शाखा प्रमुख रमेश रावतलाई सम्मान गरिएकाे थियाे ।

सुस्वा परियोजना त्रिपुरासुन्दरी शाखाका संयोजक धनप्रसाद बुढाले सम्मेलनबाट प्राप्त सुझाव, सिकाइ र प्रतिबद्धताहरूलाई आगामी योजना तथा कार्यक्रमहरूमा समावेश गरी कार्यान्वयन गरिने बताए । उनका अनुसार सम्मेलनले खानेपानी तथा सरसफाइ सेवाको गुणस्तर सुधार, संस्थागत सुशासन प्रवर्द्धन, समुदायको स्वामित्व अभिवृद्धि तथा योजनाको दीगो व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया