ताजा समाचार

डोल्पा निर्वाचन सुरक्षा: प्रदेश प्रमुख सचिवसहित उच्च सुरक्षा टोलीको अनुगमन

विष्णुप्रसाद देवकोटा

डोल्पा । आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा जिल्ला निर्वाचन सुरक्षा उच्च सतर्कतामा छ। सुरक्षा व्यवस्थाको अनुगमन गर्न कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र कुमार यादवसहित उच्च सुरक्षा टोली डोल्पा पुगेको सहायक निर्वाचन अधिकृत विदुरप्रसाद काइरालाले जानकारी दिए ।।

टोलीमा नेपाली सेनाका उत्तर पश्चिम पृतनापति दिपेशजंग शाह, प्रदेश प्रहरी प्रमुख जयराज सापकोटा, सशस्त्र प्रहरी बलका प्रदेश निमित्त बाहिनीपति विनोदराज श्रेष्ठ लगायत रहेका छन्। अनुगमन टाेलिले जिल्ला भरका मतदान केन्द्रको सुरक्षा स्थिति, संवेदनशीलता र मतदाता विवरणको जानकारी लिएकाे छ।

भौगोलिक विकटताको कारण माथिल्लो डोल्पाका मतदान केन्द्रमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पुर्याउन चुनौतीपूर्ण प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी गराएकी थिइन । यसै सन्दर्भमा शनिबारदेखि दुई हेलिकप्टरमार्फत सामग्री र कर्मचारी माथिल्लो क्षेत्रमा पठाउन सुरु गरिएको उनले बताइन।

प्रमुख जिल्ला अधिकारी हमालले आगामी निर्वाचनपछि माथिल्लो क्षेत्रमा खटिएका कर्मचारीहरुलाई सुरक्षित रूपमा फिर्ता ल्याउन पनि प्रदेशबाट आएको टोलीलाई आवश्यक सहजीकरणका लागि आग्रह गरेकी छिन्।

निर्वाचनअघि यस्तो उच्च स्तरीय सुरक्षा अनुगमनले मतदाता र निर्वाचन प्रक्रियाको सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण कदम सावित हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया