विष्णुप्रसाद देवकोटा
डोल्पा(नर्कु) । तल्लो डोल्पाको दुर्गम बस्ती नर्कुमा सडक सञ्जाल विस्तार भएसँगै यहाँको जनजीवनमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ। हालै ट्र्याक खोलिएको सडकमार्फत मोटरसाइकल, ट्याक्टर र जीपहरू सिधै गाउँसम्म पुग्न थालेपछि नर्कुबासीको दैनिक जीवन सहज बन्दै गएको हो।
मुड्केचुला गाउँपालिकाको केन्द्र समेत रहेको नर्कु प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले सम्पन्न क्षेत्रका रूपमा परिचित छ। सडक पहुँच विस्तारसँगै यहाँको पर्यटन सम्भावनामा पनि नयाँ आयाम थपिएको छ। यातायात सुविधा बढेपछि दैनिक उपभोग्य वस्तुको ढुवानी सहज भएको छ भने स्थानीयले उपभोग्य सामग्री लगायत विकास निर्माण सामाग्री समेत सस्तोमा पाउन थालेका छन्।जसले गर्दा भाैतिक संरचना पुनर्निर्माणमा सहज बन्दै गएकाे छ ।
पहिले सदरमुकाम दुनै पुग्न घण्टौँ मात्र होइन, दिनौँ पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो। तर अहिले सडक पुगेपछि त्यही दूरी करिब तीन घण्टामै पार गर्न सकिने भएको छ। यसले स्थानीयको समय, श्रम र खर्च तीनै पक्षमा सकारात्मक प्रभाव पारेको छ।
यद्यपि, त्रिवेणीदेखि नर्कुस्थित पालिका केन्द्रसम्मको सडक खण्डमा आवश्यक पुलहरूको अभावले वर्षायाममा यातायात सञ्चालनमा अझै चुनौती देखिएको छ। विशेषतः खोलानाला बढ्ने समयमा सेवा अवरुद्ध हुने समस्या कायमै छ।
हाल खर्क र इल क्षेत्रमा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ भने खाद्दुमा पुलका दुवै तर्फका आधार पिलर निर्माण सम्पन्न भइसकेका छन्। जगदुल्ला हाइड्रोपावरको पहलमा मुड्केचुला गाउँपालिका अन्तर्गतका विभिन्न स्थानमा पुल निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।

यसैबीच, रुकुम पश्चिम, जाजरकोट र डोल्पालाई जोड्ने त्रिवेणीमा पक्की पुल निर्माणसमेत जारी रहेको छ। उक्त पुल छिट्टै सम्पन्न गर्न स्थानीयवासीले माग गर्दै आएका छन्। त्रिवेणी हुँदै मुड्केचुला भएर जुम्लासम्म आवतजावत सहज बनाउने यो संरचना पूरा भएपछि समग्र क्षेत्रीय आवागमनमा दीर्घकालीन सुधार आउने अपेक्षा गरिएको छ।
सडक र पुल पूर्वाधारको क्रमिक विकाससँगै नर्कु अब दुर्गमताको प्रतीक मात्र नभई सम्भावनाको नयाँ गन्तव्य बन्दै गएको स्थानीयहरूको विश्वास छ।याे समाचार तयार ताकाका मुड्केचुला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम महताराका अनुसार पछिल्ला दुई वर्षमा पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएको छ। “हिजोको र आजको मुड्केचुलालाई तुलना गर्ने हो भने आधारभूत विकासका धेरै सूचकमा सुधार देखिन्छ,” उनले भने। उनका अनुसार शिक्षाक्षेत्र सुधारका लागि कार्ययोजना बनाएर विद्यालयको गुणस्तर अभिवृद्धिमा जोड दिइएको छ भने शिक्षकलाई उत्प्रेरित गर्ने कार्यक्रम सञ्चालन भइरहेका छन्। सुशासनका लागि दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन, वडा कार्यालयलाई अधिकार प्रत्यायोजन तथा सेवाप्रवाहलाई विकेन्द्रीकृत गरिएको छ। विकास निर्माणतर्फ सबै वडालाई पालिका केन्द्रसँग जोड्ने गरी सडक विस्तार गरिएको उनले जानकारी दिए।
स्थानीय भिमबहादुर बोहराका अनुसार पछिल्लो समय नर्कुमा जीवन निकै सहज बनेको छ। “पहिलेको अवस्था निकै कठिन थियो, अहिले विकाससँगै ढुवानी र दैनिकी दुवै सहज भएका छन्,” उनले भने।

त्यस्तै, स्थानीय दन्तबहादुर शाहीले मोटरबाटो पुगेपछि खाद्यान्न र निर्माण सामग्री ढुवानीमा सहजता आएको बताए। “कुनै समय नेपालगन्ज पुग्न तीन महिना लाग्थ्यो, अहिले एकै दिनमा पुगिन्छ,” उनले भने। उनले सडक ट्र्याक खुले पनि यसको स्तरउन्नतिमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।खर्क भन्ने ठाउँमा ब्यापार ब्यावसाय गरि बसेका स्थानीय भक्तबहादुर थापा मानिसलाई सडक र बत्तीकाे विकास गरि दिए अन्य कुरा आफै विकसित भई जाने बताउँछन् ।जगदुल्ला हाइड्रोपावरले मुड्केचुलाबासीकाे भाग्य रेखा काेरि दिएकाे थापाकाे भनाई छ ।यतिखेर मुड्केचुलाका अधिकांश वडाहरु सडक पहुँचमा पुगेका छन ।

मुड्केचुला क्षेत्रमा नदीहरूमा बेलिब्रिज निर्माणको जिम्मा लिएका हितान तथा रविचन्द्र निर्माण कम्पनी का प्रतिनिधि ठेकेदार मुनि विक्रम शाहीका अनुसार खर्कस्थित बेलिब्रिजको ९५ प्रतिशत र इलस्थित बेलिब्रिजको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ। “केही हप्ताभित्रै दुवै पुल सञ्चालनमा ल्याइनेछ,” उनले भने।साथै खाद्दु, गारपारी र लामाचौरका पुलहरू पनि वातावरण अनुकूल भए चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिने लक्ष्य रहेको उनले जानकारी दिए।त्रिवेणी देखि मुड्केचुला हुँदै जगदुल्ला गाउँपालिका जाेड्ने बीच खण्डमा पर्ने करिव एक दर्जन पुल निर्माणकाे जिम्मा कम्पनीले लिएकाे प्रतिनिधि शाहीले बताए ।यी पुलहरू निर्माण सम्पन्न भएपछि मुड्केचुलावासीको आवागमन अझ सहज हुने अपेक्षा गरिएको छ।

डोल्पा न्यूज । १२ बैशाख २०८३, शनिबार १८:२६