ताजा समाचार

सडक र इन्टरनेट समस्या समाधान माग्दै शे फाेक्सुण्डाे पालिका अध्यक्ष गुरुङ मुख्यमन्त्री समक्ष

डोल्पा । शे–फोक्सुण्डो गाउँपालिकाले पालिका क्षेत्रको दीर्घकालीन विकाससँग जोडिएका सडक पूर्वाधार र इन्टरनेट सेवाका समस्या समाधानका लागि कर्णाली प्रदेश सरकारसँग पहल तीव्र बनाएको छ। गाउँपालिका अध्यक्ष धावा सम्डुक गुरुङको नेतृत्वमा माननीय मुख्यमन्त्री तथा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढासँग भेट गरी दुवै विषयमा आवश्यक सहयोग र समन्वयको आग्रह गरिएको हो।

भेटका क्रममा गाउँपालिकाले सिङथुप्रा–रिखे–पुग्मो हुँदै दुनै जोड्ने रणनीतिक सडक योजनाका लागि चालु आर्थिक वर्ष २०८२/०८३ मा ४ करोड रुपैयाँ बजेट सुनिश्चित हुनुपर्नेमा विभिन्न कारणले सम्भव नभएको जानकारी गराएकाे छ।

आगामी आर्थिक वर्ष २०८३/०८४ मा बहुवर्षीय योजनाका रूपमा स्वीकृत गरी बजेट व्यवस्थापन गर्न अनुरोध गरेको छ। उक्त सडक निर्माण भएमा पालिका केन्द्रलाई जिल्ला सदरमुकामसँग सहज रूपमा जोड्ने, पर्यटन प्रवर्द्धन गर्ने तथा स्थानीय नागरिकलाई यातायात पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

गाउँपालिकाले यसअघि पठाएको पत्रमार्फत पनि सडक सञ्जालको अभावले सेवा प्रवाह, स्वास्थ्य उपचार, विपद् व्यवस्थापन र आर्थिक गतिविधिमा गम्भीर असर परेको उल्लेख गर्दै योजनालाई प्राथमिकताका साथ अघि बढाउन माग गरेको थियो। योजनाको प्रारम्भिक खण्डको विस्तृत परियोजना प्रतिवेदन समेत तयार भइसकेको जनाइएको छ।

यसैबीच, गाउँपालिकाका माथिल्ला ७ वटा वडामा लामो समयदेखि इन्टरनेट सेवा अवरुद्ध रहेको विषय पनि भेटमा उठाइएको पालिकाले जनाएको छ। वर्ल्डलिङ्क कम्युनिकेशनमार्फत सञ्चालित सेवा विगत करिब ६ महिनादेखि प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा डिजिटल सेवा, शैक्षिक गतिविधि तथा सार्वजनिक सेवा प्रवाहमा समस्या उत्पन्न भएको गाउँपालिकाको भनाइ छ। सेवा प्रदायकसँग पटक–पटक समन्वय गर्दा पनि समस्या समाधान नभएकाले प्रदेश सरकारमार्फत आवश्यक पहल गर्न अनुरोध गरिएको हो।

भेटमा कर्णालीका मुख्यमन्त्री यामलाल कडेलले  प्रमुख सचिवमार्फत आवश्यक पत्राचार गरी समस्या समाधानका लागि समन्वय गर्ने निर्देशन दिएको अध्यक्ष गुरुङले बताए । गाउँपालिकाले इन्टरनेट सेवा शीघ्र सुचारु हुने र सडक योजना समेत बहुवर्षीय रूपमा स्वीकृत भई कार्यान्वयनमा जाने आशा व्यक्त गरेको छ।

गाउँपालिकाका अनुसार यी दुवै विषय समाधान भएमा शे–फोक्सुण्डो क्षेत्रका नागरिकको जीवनस्तर सुधार हुने र सेवा प्रवाह प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया