ताजा समाचार

डोल्पामा एमाले–प्रलोपा खुला मोर्चाबन्दी:६ हजारको राज कि १८ हजारको फैसला?

विष्णुप्रसाद देवकोटा

डाेल्पा(रल्ली)

डोल्पाको संसदीय राजनीतिमा दशकभन्दा बढी समयदेखि प्रभाव जमाउँदै आएका धनबहादुर बुढाविरुद्ध यसपटक संगठित, रणनीतिक र स्पष्ट घेराबन्दी सुरु भएको छ।

२०७० यता पार्टी परिवर्तनको लचकतामार्फत चुनावी सफलता दोहोर्‍याउँदै आएका उनीमाथि अब जेनजि पुस्ता र क्षेत्रीय अंकगणित दुबै एकसाथ उभिएका छन्।यो चुनाव केवल उम्मेदवारबीचको प्रतिस्पर्धा होइन यो “विरासत बनाम विद्रोह”को टकराव हो।

एकै घरका दाजुभाइ—कांग्रेसबाट कर्णबहादुर बुढा र नेकपाबाट धनबहादुर बुढा आमनेसामने उत्रिएपछि डोल्पाको राजनीति पारिवारिक द्वन्द्वमा रूपान्तरित भएको छ। आरोप–प्रत्यारोप र मौन ‘सितयुद्ध’ले मत विभाजनको संकेत दिएको छ।

यही अवस्थालाई निर्णायक अवसर मानेर नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच औपचारिक तालमेल भएको छ।

प्रलोपा उम्मेदवार विकास बुढाले उम्मेदवारी निष्क्रिय बनाउँदै एमाले उम्मेदवार लंकबहादुर रोकायालाई समर्थन गरेपछि चुनावी समीकरण एकाएक फेरिएको छ।यो तालमेल केवल गणितीय जोडघटाउ होइन यो सन्देश हो:व्यक्तिकेन्द्रित प्रभावको अन्त्य ।

उपल्लो डोल्पामा करिब ६ हजार मतदाता, मध्य र तल्लो क्षेत्रमा झण्डै १८ हजार।गठबन्धन पक्षले यही तथ्यलाई चुनावी विमर्शको केन्द्र बनाएको छ।

प्रश्न सोधिएको छ ,बहुसंख्यक मतदाता किन अल्पसंख्यक क्षेत्रको निरन्तर राजनीतिक नियन्त्रणमा बसिरहनु पर्ने?यो क्षेत्रीय उत्तेजना मात्र होइन, कठोर चुनावी अंकगणित हो। यदि १८ हजार मतदाता एकढिक्का भए भने दशक लामो प्रभाव ढल्न सक्छ भन्ने स्पष्ट संकेत दिइएको छ।

गठबन्धन पक्षले धनबहादुर बुढामाथि भावनात्मक राजनीति गर्ने, चुनावी बेला आश्वासन र सहानुभूति देखाउने तर विजयी भएपछि जनताबाट टाढिने आरोप लगाएको छ।

उनीहरूको दाबी छ डोल्पाको विकास भाषणमा सीमित रह्यो, संरचनागत रूपान्तरण हुन सकेन। जेनजि पुस्ताले उम्मेदवारी त्यागलाई “व्यक्ति होइन, उद्देश्य”को निर्णयका रूपमा व्याख्या गरेको छ।यो शैलीगत भिन्नता मात्र होइन; यो राजनीतिक संस्कार बदल्ने उद्घोष हो।

२०७९ मा बहुदलीय गठबन्धनको साझा उम्मेदवार हुँदा पनि जित सहज थिएन। एमालेका युवा उम्मेदवारले उल्लेखनीय मत ल्याएर बलियो आधार देखाएका थिए। त्यसैले यसपटक एमाले–प्रलोपा पक्ष संगठनात्मक रूपमा आफूहरू अग्रसर रहेको दाबी गर्छ।

उनीहरूको विश्वास छ घरभित्रको प्रतिस्पर्धा र बाहिरको गठबन्धनले पुरानो समीकरण तोड्नेछ।अब डोल्पाको चुनाव दुई धारमा उभिएको छ दशक लामो प्रभावको निरन्तरता? कि बहुसंख्यक मतदाताको राजनीतिक पुनर्संरचना?यो परिणाम केवल एक नेताको जित–हार होइन।

यो डोल्पाको भावी राजनीतिक संस्कार, शक्ति सन्तुलन र नेतृत्वको दिशा तय गर्ने जनादेश हुनेछ।तर अन्तिम फैसला मतपेटिकामा हुनेछ ६ हजारको राज कायम रहन्छ,कि १८ हजारको निर्णय इतिहास बन्छ?

तपाईको प्रतिक्रिया