ताजा समाचार

डाेल्पााकाे त्रिपुराकोटमा देवी भागवत महापुराण नवाह यज्ञ हुने,पुण्य लाभ लिन आग्रह

विष्णुप्रसाद देवकोटा

डोल्पाको श्री बालात्रिपुरासुन्दरी योगमाया भगवती माता देवी मन्दिर, त्रिपुराकोट–१ मा धार्मिक आस्था र आध्यात्मिक चेतना प्रवर्द्धन गर्ने उद्देश्यले देवी भागवत महापुराण नवाह यज्ञ आयोजना गरिने भएको छ।

मन्दिरका मुख्य पुजारी टंकप्रसाद उपाध्यायका अनुसार आगामी २०८२ साल चैत ५ गतेदेखि चैत १४ गतेसम्म नौ दिनसम्म सञ्चालन हुने उक्त यज्ञ दैनिक मध्याह्न १२ बजेदेखि ३ बजेसम्म सञ्चालन गरिनेछ।

कार्यक्रममा प्रमुख वाचकका रूपमा प्रख्यात धर्मप्रवचक डा. गुरुप्रसाद सुवेदी तथा उपवाचकका रूपमा सोमनाथ कोइरालाले देवी भागवत महापुराण वाचन तथा प्रवचन गर्ने कार्यक्रम रहेको छ।

नवाह यज्ञको अवसरमा देवीको स्तुति गर्दै उच्चारण गरिने मन्त्र “ॐ देवी प्रपन्नार्तिहरे प्रसीद मातर्जगतोऽखिलस्य, प्रसीद विश्वेश्वरि पाहि विश्वं त्वमीश्वरी देवी चराचरस्य” ले सम्पूर्ण जगतका दुःखी र आश्रित जीवहरुको रक्षा तथा कल्याणका लागि देवीसँग कृपा याचना गरिएको भाव व्यक्त गर्छ।

हिन्दू धर्मशास्त्रअनुसार यस्तो नवाह यज्ञ र महापुराण वाचनले धार्मिक आस्था बलियो बनाउने, समाजमा सद्भाव र सकारात्मक ऊर्जा फैलाउने तथा भक्तजनको मनोकामना पूर्ण हुने विश्वास रहँदै आएको आयाेजक मुख्य पुजारी टंकप्रसाद उपाध्यायले बताए ।

धार्मिक पुण्य प्राप्ति, आध्यात्मिक ज्ञानको विस्तार र सामाजिक सद्भाव अभिवृद्धिका लागि सञ्चालन हुने उक्त महापुराण यज्ञमा सम्पूर्ण भक्तजनलाई उपस्थित भई पुण्य लाभ लिन आग्रह गरेकाे यज्ञ ब्यवस्थापन सदस्य माेति प्रसाद उपाध्यायले बताए ।उपाध्यायका अनुसार नवाह यज्ञकाे सम्पूर्ण तयारी पूरा भइसकेकाे र वाचकहरु चैत ३ गते भित्र महा यज्ञस्थलमा आइपुग्ने छन ।

तपाईको प्रतिक्रिया