विष्णुप्रसाद देवकोटा
डोल्पा।
डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा गएराति आएको बाढीमा गम्भीर घाइते भएकी रेउली विकलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको छ।
लगातारको वर्षापछि धुलाखोला तथा आसपासका खोल्सामा आएको हिलोमाटोसहितको बाढी शुक्रबार बिहान करिब ३ बजे गाउँमा पस्दा रेउली विकसहित ६ जना घाइते भएका थिए। सोही घटनामा स्थानीय आनन्दी विक (अन्दाजी ५६ वर्ष) को मृत्यु भएको थियो।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार घाइतेमध्ये रेउली विक (४४) को अवस्था गम्भीर रहेकाले नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत रिफर गरिएको हो।
बाढीमा घाइते भएका अन्य चाउरी विक (५०), विष्णु विक (४८), निरुता विक (१५), सीता विक (१३) र जस विक (६५) को स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बाढीका कारण गाउँका सहकारी भवन, खाद्य गोदामसहित करिब १५ घरमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
बाढीमा गम्भीर घाइते रेउली विकलाई सेनाको हेलिकप्टरबाट सुर्खेत लगियो
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २१ असार २०८३, आईतवार १४:०१