विष्णुप्रसाद देवकोटा
डोल्पा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको खोज, उद्धार तथा राहतका लागि डोल्पाको ठूलीभेरी नगरपालिकाले एक लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ।
नगर प्रमुख सुवर्णकुमार बुढाले विज्ञप्ति जारी गर्दै बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
बाढीका कारण भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै उनले प्रभावितप्रति समवेदना व्यक्त गरेका छन्।विज्ञप्तिमा रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सतर्क रहन आग्रह गरिएको छ।
सम्भावित थप क्षतिबाट जोगिन सुरक्षित स्थानमा जान र सुरक्षित भएर बस्न नगरपालिकाले अपिल गरेको छ।
विपद्पछिको खोज, उद्धार तथा राहत वितरणमा सहयोग पुर्याउने उद्देश्यले ठूलीभेरी नगरपालिकाले एक लाख ५० हजार रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउने प्रतिबद्धता जनाएको छ।
नगरपालिकाले विपद्को समयमा सबै पक्षलाई सहयोग र सहकार्यका लागि समेत आग्रह गरेको छ।

डोल्पा न्यूज । ११ भाद्र २०८३, बिहीबार १९:५८