ताजा समाचार

डाेल्पाकाे ल्हाँमा पहिलोपटक 4G पहुँच, स्थानीयमा खुशी

विष्णुप्रसाद देवकोटा
डोल्पा । वर्षौंदेखि कमजोर मोबाइल नेटवर्क र इन्टरनेट सेवाको अभाव झेल्दै आएका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ र ६ का स्थानीय अब 4G सेवासँग जोडिएका छन्। नेपाल टेलिकमले ल्हास्थित टावरको क्षमता वृद्धि गर्दै 4G सेवा विस्तार गरेपछि स्थानीयमा खुशी छाएको हो।
नेपाल दूरसञ्चार कार्यालय डोल्पाका प्रमुख दयाविक्रम केसीका अनुसार ल्हा क्षेत्रमा रहेको टेलिकम टावरलाई स्तरोन्नति गरी उच्च गतिको इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको हो। यसअघि फोन सम्पर्कसमेत सहज नहुने, इन्टरनेट नचल्ने र सञ्जाल बारम्बार अवरुद्ध हुने समस्या स्थानीयले भोग्दै आएका थिए।
सेवा विस्तारसँगै अहिले स्थानीयले मोबाइलमार्फत सहज रूपमा इन्टरनेट चलाउन, भिडियो कल गर्न, सामाजिक सञ्जाल प्रयोग गर्न तथा देश–विदेशका सूचना तत्काल प्राप्त गर्न सक्ने भएका छन।
स्थानीय मोतिप्रसाद उपाध्यायले पहिले सामान्य फोन गर्नसमेत समस्या हुने गरेको स्मरण गर्दै अहिले 4G सेवा सञ्चालन भएपछि गाउँमै बसेर विश्वसँग जोडिन सहज भएको बताए।

“पहिले नेटवर्क नआउँदा सूचना पाउनै कठिन थियो, अहिले 4G आएपछि समाचार, जानकारी र आफन्तसँग सम्पर्क सबै सहज भएको छ,” उनले भने।
स्थानीयका अनुसार सञ्चार सेवामा आएको सुधारले विद्यार्थीको अनलाइन अध्ययन, सरकारी सूचना आदान–प्रदान, डिजिटल कारोबार तथा दैनिक जनजीवनमा सकारात्मक प्रभाव पारेको छ। दुर्गम क्षेत्रमा गुणस्तरीय सञ्चार सेवा विस्तार भएपछि स्थानीयले राज्यको उपस्थितिको अनुभूति गर्न थालेका छन्।
नेपाल टेलिकमले डोल्पाका अन्य दुर्गम बस्तीमा समेत क्रमशः सेवा विस्तार र टावर स्तरोन्नतिको काम भइरहेको दुरसचार डाेल्पाले जनाएकाे छ।

तपाईको प्रतिक्रिया